प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले सरकारको कामकारबाहीकै कारण अर्को पटक कांग्रेसको सरकार बन्ने बताएका छन्।
निर्वाचनका बेला जनतासँग गरेका कार्यसम्पादन करार सरकार बनाएपछि सत्तारूढ दलका नेता, मन्त्रीहरू र प्रधानमन्त्रीले भुलेको उनको भनाइ छ।
सरकारका काम गराइ हेर्दा अर्को चुनावमा कांग्रेस सरकारमा जाने उनले बताए।
‘एउटा कुरा खुसी लाग्यो, प्रधानमन्त्रीले भन्नुभयो अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ,’ रिजालले भने, ‘ठीक हो प्रधानमन्त्रीज्यू यस्तो काम देखेपछि त अर्कोपटक कांग्रेसबाहेक अरू कसको सरकार बन्छ?’
उनले लोकतन्त्र सरकारले नभई जनताले लडेर ल्याएको बताए।
‘हेक्का रहोस् लडेका मानिसले सरकार बनाएको होला, सरकारले लडेको होइन,’ उनले भने।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि आइतबार बोलेका सांसद रिजालले प्रधानमन्त्रीले आर्थिक वृद्धिका बारेमा हलुका टिप्पणी गरेको आरोप लगाए।
छाया सरकारका अर्थमन्त्रीसमेत रहेका रिजालले भने, ‘प्रधानमन्त्री आर्थिक वृद्धिका बारे हलुका टिप्पणी नगर्नुस् पुँजीगत खर्च गतवर्षको भन्दा ३५ अर्ब कम छ। प्रधानमन्त्रीको टिप्पणी सुन्दा मेरा पुराना मित्र हुनुहुन्छ अर्थमन्त्रीजी, उहाँको पो चिन्ता लाग्यो।’
निर्वाचनका बेला जनतासँग गरेका कार्यसम्पादन करारमा प्रधानमन्त्री असफल भइसकेको उनले बताए।
रेल र पानी जहाजका कुरा गर्ने सांसदहरू पनि समृद्धिको आधार वर्ष हो भनेर बोल्न थालेको उनको भनाइ छ।