सत्तारूढ दलको इच्छा पूरा गर्न आस्थाको आधारमा संघमा आवद्ध शिक्षकहरूलाई भेदभाव गरेको भन्दै नेपाल शिक्षक संघ दाङले आन्दोलन थालेको छ।
आस्थाको आधारमा संघका शिक्षक सरुवा, प्रधानाध्यापक नियुक्ति लगायतमा विभेद गरेको आरोप लगाउँदै संघले आन्दोलन थालेको हो।
पहिलो चरणको आन्दोलन स्वरूप सोमबार बिहान १० बजेदेखि घोराही उपमहानगरपालिका र लमही नगरमा धर्ना सुरू गरेको नेपाल शिक्षक संघ दाङका अध्यक्ष युुवराज बस्नेतले जानकारी दिए।
‘दरबन्दी मिलानका नाममा हाम्रा साथीहरूलाई आतंकित पारिएको छ। आस्थाका आधारमा पहाडी क्षेत्र लखेट्ने र काम नै नगरिदिने गरेपछि बाध्य भएर आन्दोलन गर्नु परेको हो,’ अध्यक्ष बस्नेतले सेतोपाटीलाई भने।
लमहीमा उपमेयरले गरेको हस्ताक्षर अमान्य भएको भन्दै मेयरको फोन बिना कर्मचारीले हस्ताक्षर गर्न नमानेको, घोराहीमा एक वडा अध्यक्षले संघका शिक्षकलाई मानसिक टर्चर दिने व्यवहार गरेको अध्यक्ष बस्नेतले बताए।
विधि विधान, पद्धतिविपरीत राजनीतिक आड र पूर्वाग्रहबाट संघका शिक्षकहरूलाई यातना दिने गरेको अध्यक्ष बस्नेतले दोषारोपन गरे।
स्थानीय जनप्रतिनिधिले राजनीतिक प्रतिशोधका आधारमा शिक्षक संघका साथीहरूलाई सरुवा, बढुवालगायत हरेक काममा यातना दिने गरेको र नेकपा नजिकका शिक्षकहरूलाई भने जे भन्छन् त्यही गरिदिने जस्ता विभेद गरेको अध्यक्ष बस्नेतले दाबी गरे।
नेपाल शिक्षक संघ दाङका सचिव प्रकाश डाँगीले शिक्षा विकास तथा समन्वय ईकाइ, गाउँ र नगर शिक्षा समितिहरूले नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरूलाई अत्यन्त भेदभाव पूर्ण व्यवहार गरे संघले सहेर नबस्ने चेतावनी दिए।
‘सत्ता र शक्तिको आडमा शिक्षक माथि हुँदै आएका दुराग्रहीपूर्ण गतिविधि तत्काल बन्द नभए हामी चरणवद्ध आन्दोलन गर्न बाध्य हुनेछौं,’ सचिव डाँगीले भने।
शिक्षा जस्तो अति संवेदनशील र राजनीतिबाट मुक्त रहनुपर्ने क्षेत्रमा चरम राजनीतिक हस्तक्षेप गरिनु गलत भएको उनले बताए।
‘शिक्षा क्षेत्रमा भइरहेको चरम राजनीतिक हस्तक्षेपले शिक्षाप्रेमीहरू आश्चर्यचकित पारेको छ,’ सचिव डाँगीले भने, ‘यस्ता विभेद अन्त्य गर्न नेपाल शिक्षक संघ जस्तो सुकै कडा कदम चाल्नु परे पनि तयार हुनेछ।’
विभिन्न सेवा सुविधाबाट संघका शिक्षकलाई बञ्चित गरेको भन्दै नेपाल शिक्षक संघले सोमबार शिक्षा विकास तथा समन्वय इकाई दाङको कार्यालयमा धर्ना दिएको छ।
शिक्षकले बिहान १० बजेदेखि कार्यालयको मूलढोकामा बसेर धर्ना दिएको हुँदा कामकाज ठप्प बनेको छ। सेवाग्राही कार्यालय प्रवेश गर्न पनि पाएका छैनन्।
पढाउन छोडेर शिक्षक आन्दोलनमा उत्रिएको प्रति कतिपयले भने आलोचना गरेका छन्।