कर्णाली प्रदेश सरकारले नेपालमै पहिलोपटक कर्णालीका सबै नागरिकको दुर्घटना बीमा गरेको छ। बुधबार कर्णाली प्रदेशका नागरिकको सामूहिक बीमा कार्यक्रमको शुभारम्भ गरिएको हो।
आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बीमा कम्पनीसँग बुधबार कर्णालीका नागरिकको सामूहिक दुर्घटना बीमासम्बन्धी सम्झौता भएको हो।
सम्झौता अनुसार कर्णाली प्रदेशका १७ लाख ७० हजार नागरिकको सामूहिक दुर्घटना बीमा गरिएको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले जानकारी दिए।
बीमाअन्तर्गत कर्णाली प्रदेशका कुनैपनि नागरिकको प्रकोप या प्राकृतिक विपद्बाट निम्तिने दुर्घटनाले मृत्यु भएमा १ लाख रुपैयाँ दिइनेछ। अर्यालका अनुसार बीमा गरिएको घर भत्किएमा पाँच लाख रुपैयाँ दिइने छ।
घर पुरिएमा, परिवारको मृत्यु भएमा त्यो परिवारको नाता खुल्ने नजिकको परिवारले बीमा रकम पाउने अर्यालले बताए। समाजवाद उन्मुख अर्थतन्त्रलाई टेवा पुर्याउन सबै नागरिकका सामूहिक दुर्घटना बीमा योजना सहयोगी हुने उनले बताए।
कर्णाली प्रदेश सरकार र कम्पनीबीच दश वटै जिल्लाका उच्च विपद् जोखिम भएका १० हजार घरधुरीको सम्पत्ति वीमा गर्ने सहमति भएको अर्यालले जानकारी दिए।
‘प्रति जिल्लाका एक हजार घरधुरीको सुरक्षाका लागि घरहरुको पहिचान गरिने र वर्गीकरण गर्ने तयारी पनि गरिएको छ, विकट स्थानमा दुर्घटना भएको खण्डमा कार्यान्वयन गर्दा केही ढिलाई हुनसक्छ,’ उनले भने, ‘तर पनि स्थानीय तहको सिफारिस र सुरक्षा निकायको सिफारिसलाई आधार मानेर बीमा सुविधाबाट पाउने आर्थिक सुविधा प्रदान गरिनेछ।’
बीमा विज्ञ सुकल्याण पराजुलीले कर्णालीमा हुने जोखिमविरुद्ध सरकारले बीमा कार्यक्रम सुरु गरेको बताए। यो कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनले बताए।
जनतालाई थप राहत दिन सामूहिक बीमा
सामूहिक बीमा शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका जनतालाई थप राहत दिन बीमा कार्यक्रम लागू गरिएको बताए।
हरेक प्रकारका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको प्रदेश कर्णाली भएको बताउँदै उनले आगलागी, चट्याङ, बाढी पहिरो जस्ता विपत्तीबाट आइपर्ने समस्या समाधानका लागि बीमाले केही सहयोग पुग्ने बताए।
‘जनतालाई ठूलो राहत हुने अपेक्षासहित बीमा कार्यक्रम ल्याइएको हो, सबै जनताको बीमा गर्ने भनेर कम्पनीसँग सम्झौता गरेका हौँ’ मुख्यमन्त्री शाहीले भने।
आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले प्रदेशका सबै नागरिकको सामूहिक बीमा गरिनु उदाहरणीय काम भएको बताए। समाजवाद उन्मुख अर्थतन्त्रका लागि यस्ता कार्यक्रम आवश्यक भएको उनले बताए।