गृह मन्त्रालयले नेपाल प्रहरीको विभिन्न पदमा तीन हजार पाँच सय ९६ नयाँ दरबन्दी थप्ने प्रस्ताव स्वीकृत गरेको छ।
नेपाल प्रहरीले प्रहरीमा नयाँ दरबन्दीको प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहले हालै उक्त प्रस्ताव स्वीकृत गरेपछि प्रहरीमा वरिष्ठ प्रहरी अधिकारीसहित नयाँ दरबन्दी थपिने भएको छ।
गृहको स्वीकृतिअनुसार नेपाल प्रहरीमा एक प्राविधिकसहित तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थपिने छन्। यस्तै, प्रहरी उपरीक्षक (एसपी)मा चार, प्रहरी नायब उपरीक्षक (डिएसपी) २१, प्रहरी निरीक्षक ४७ जना थपिने छन्।
यस्तै, प्रहरी नायब निरीक्षक ८६, प्रहरी सहायक निरीक्षक २९७, प्रहरी हवल्दार ६८३, प्रहरी जवान २ हजार २१६ र कार्यालय सहायक २३९ थपिने भएका छन्।
प्रहरीमा बढुवामा व्यापक असन्तुष्टि छ। थपिएको नयाँ दरबन्दीले असन्तुष्टि केही हदसम्म निराकरण गर्ने गृहको विश्वास छ। एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एक वर्षअघि एसपी नरेन्द्र उप्रेतीले राजीनामा नै दिएका थिए। शक्ति केन्द्र धाउनेले बढुवा पाएको भन्दै प्रतिस्पर्धी उप्रेतीले राजीनामा दिएका थिए।
प्रहरी उपरीक्षक बढुवामा पनि असन्तुष्टि छ। व्यावसायिक छवि बनाएका केही अधिकृतहरूलाई जानाजान बढुवामा समावेश नगरिएको आरोप छ।