सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी जनतासँग झन् गहिरो लभ परेको बताएका छन्।
परासीमा मंगलबार आयोजित औद्योगिक व्यापार मेला उद्घाटन गर्दै मधेशीसँग डिभोर्स नभई झन् प्रेम गहिरो भएको उल्लेख गरे।
‘मधेशी जनतासँग गरेको लभ डिभोर्स गरेको छैन,’ प्रचण्डले भने, ‘तपाईंहरू मसँग डिभोर्स गर्न खोजेको हो र? हो भने मैले बुझ्ने गरी भन्नुहोला।’
उनले मधेशसँग आफ्नो प्रेम झन् गहिरो भएको बताए।
‘मधेशसँग अझ गहिरो लभ छ,’ उनले भने, ‘निर्वाचनका बेला पनि सबभन्दा बढी मेहेनत मैले मधेशमै गरें। मधेशी जनताप्रति प्रेमकै परिणामले गर्दा हो। तपाईं यसलाई खण्डन गर्न चाहनुहुन्छ?’ मञ्चमा बोलेका नेताहरूले प्रचण्डले संविधान संशोधनमा ध्यान नदिएर मधेशीसँगको लभ डिभोर्स गरेको आरोप लगाएपछि प्रचण्डले जवाफ दिएका हुन्।
उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई केपी शर्मा ओली नेतृत्वको सरकारमा समावेश गर्नुअघि दुई बुँदे सहमति गरेको प्रसंग पनि निकाले।
‘फोरमलाई सरकारमा लैजान दुई बुँदे सहमति गरेको हो। आवश्यकताअनुसार संविधान संशोधन गरिने भन्ने हो,’ उनले भने, ‘मैले सदनमा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको हुँ। अनि मलाई डिभोर्स गरेको आरोप लाग्छ त?’ उनले आफू मधेशी जनतासँग भेट हुन्छ भनेरै परासीमा प्रमुख अतिथि बनेर आएको उल्लेख गरेका थिए।
‘मधेशी जनतासँग भेट हुन्छ भनेर प्रमुख अतिथि आएको छु। परासीमा घण्टौं बसेको छु। यो जीवित सत्यले तपाईंलाई डिभोर्स गर्न लागेको जस्तो लाग्छ?,’ प्रचण्डले प्रश्न गरे।