मोरङ जहदा गाउँपालिका- १ का कार्यवाहक वडाध्यक्ष उमेशकुमार साह २१ हजार घुस रकमसहित पक्राउ परेका छन्।
उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीको टोलीले मंगलबार बुद्धनगरमा रहेको वडा कार्यालयबाट नै पक्राउ गरेको हो।
स्थानीय हरालाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण योजनाको सम्झौतामा कार्यान्वयन गरी सहजीकरण गरिदिने भन्दै ठेकेदारसँग घुस रकम माग गरेको सूचनाका आधारमा आयोगको टोली खटाइएको थियो।
त्यहीँ सूचनाका आधारमा उनलाई घुस रकम २१ हजार लिइसकेको अवस्थामा पक्राउ गरेको हो। आयोगले पक्राउ गरी थप अनुसन्धान थालेको छ। वडा १ का अध्यक्ष प्रदीप चन्द यादव भने ज्यान मार्ने उद्योगमा फरार रहेका छन्।
गत साउन २९ गते विराटनगरका समानन्द यादवका छोराको विवाहको छलफलमा झडप भएपछि समानन्द घाइते भएका थिए।
पछि उपचारका क्रममा उनको मृत्यु भएको थियो। त्यस घटनामा उनी पनि संलग्न भएको हुँदा प्रदिप यादवलाई पक्राउ गर्न जिल्ला अदालत मोरङले आदेश दिएको थियो। त्यस दिनदेखि उनी फरार रहेका छन्।