प्रवास कोलाज
‘आर यु गाइज इन्डियन्स?’
एकपल्ट फेरि उही प्रश्न हाम्रासामु तेर्सियो।
आफूसँग मौलिक नेपाली अनुहारसम्म रहेनछ भन्ने विदेशमा हुने धेरै नेपालीले बारम्बार महशुस गरेको हुनुपर्छ।
‘तिमीहरू चीन र भारतको बीचमा भएकाले कोही चिनियाँजस्तो, कोही भारतीयजस्तो देखिने हो?’ अलि अगाडि एक जमाइकन साथीले सोधेको थियो।
सांस्कृतिक अन्तरघुलनको अभाव यस्ता कुरामा महशुस हुने रहेछ।
नेपाल जनाउने केही न केही वस्तु साथै बोक्ने दाजुले आफूले लगाएको नेपाली क्रिकेट टिमको जर्सी देखाउँदै 'यो देखेनौ?' भनेपछि उताबाट प्रश्न आयो- ‘तपा.…. ईं को नाम के.…हो ?’
हामी दुई, तीन छक पर्यौं। एकैपल्ट सोध्यौं, ‘दाइ नेपाली हो?’
‘अलि... अलि हो,’ अप्ठ्यारो लवज मुस्कुरायो।
नाम? - अनिल बर्मा
देश? – बर्मा (हाल क्यानडा)
'बर्माका नेपालीको संगतले हो, नेपाली जानेको?
'अलिअलि बुझ्न मात्रै।'
'अनि अरू अलिअलि बोल्न चैं?'
'कथा अलि लामो छ।'
हामी मजदुरी गर्ने कारखानामा उनी साँझ काम गर्दा रहेछन्। हामी मध्यरात सक्रिय हुन्थ्यौं। अघिल्लो दिन हाम्रो समूहले नमज्जाले काम बिगारेपछि हामीलाई सिकाउन आएका थिए अनिल।
हाम्रो पकड अंग्रेजीमा भन्दा हिन्दीमा राम्रो थियो। हामी भारतीय भइदिए काम सिकाउन सजिलो हुने ठानेर सोधेका रहेछन् सुरूको प्रश्न। तर, नेपाली बुझ्न र अलिअलि बोल्न सक्ने ठूल्दाइ भेटिएपछि हामीले अलिअलि अंग्रेजी र अलिअलि नेपालीले काम चलाउने भयौं। हिन्दी अलि परै बसेर सुन्ने भयो हामीलाई।
उनले काम सिकाउँदै गर्दा कसैका आँखामा नहेरी नेपालीमा भने, 'म बर्माको क्रान्तिकारी हुँ।'
सँगै थपे, ‘म तपाईंको देशको राजधानीमा दुई वर्ष बसेको छु।’
कथा लामै रहेछ।
हामी दुई भाइ 'बर्मा' दाइको क्यानडास्थित वासस्थान पुग्दा बहुभाषी गोष्ठीझैं महशुस भयो।
अनिल दाइकी भर्खरै एक साता पुगेकी छोरीको मुख हेर्ने कार्यक्रम थियो। त्यहाँ अंग्रेजी र हिन्दी बोल्ने भारतीय थिए। बंगलादेशीसँग विवाह गरेकी बर्मेली, अंग्रेजी र बंगाली भाषा जान्ने बर्मेली साथी दुई बच्चासहित उपस्थित थिइन्। ती बच्चाहरूले कुन कुन भाषा जान्दछन् भन्न सक्दिनँ। बर्मेली भाषा मात्रै जान्ने अनिलकी श्रीमती अनि नेपाली, अंग्रेजी र थोडाबहुत हिन्दी समझने लेकिन बोल्न उस्तो नआउने हामी। यस्तो बेला अक्षर र बोली सकभर कम प्रयोग हुने रहेछन्।
तर, हामीसँग नेपाली बोल्न सक्ने दाइ छन्। हामीलाई उनको कथा सुन्नु छ।
१९८८, प्रजातान्त्रिक आन्दोलन, बर्मा
किशोर अनिल प्रजातन्त्र प्राप्तिका आन्दोलनमा सधैं मिसिन्थे। आन्दोलनमा व्यापक दमन भयो, कयौं बर्मेलीले ज्यान गुमाए। उनी बाँचे।
सन् १९९० मा निर्वाचन भयो, जसमा ८१ प्रतिशत मतसहित नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले चुनाव जित्यो, तर सत्तारोहण गर्न पाएन। निर्वाचित जनप्रतिनिधि र एनएलडीका कार्यकर्ता धमाधम पक्राउ पर्न थाले। अनिल त्यो दिन हेर्न र त्यसरी पक्राउ पर्न आन्दोलनमा मिसिएका थिएनन्।
अनिल बर्माले बर्मा छाडे। नामसँग जोडिएको बर्मा थरले उनलाई छाडेन।
परिवार र देश छाडेर हिँडेका उनी फेरि कहिले फर्कने टुंगो थिएन। उनी र प्रजातन्त्र सँगै फर्किनुपर्थ्यो। उनको नाममा राज्यबाट जारी भएको पक्राउ पूर्जी प्रजातन्त्रले खोस्नुपर्थ्यो।
यो १९९१ को कुरा हो, जतिबेला उनी १८ वर्षका थिए।
अनिल भारत आए, एक शरणार्थीका रूपमा। बर्मामा सत्तारोहण गर्न नपाएका, प्रजातान्त्रिक आन्दोलनमा सहभागी राजनीतिक दलहरूको निर्वासित सरकार गठन भएको थियो। आङ साङ सू की देशमै नजरबन्दमा थिइन्।
युएनएचसिआरले शरणार्थी परिचयपत्र दिएको थियो। उसैले उपलब्ध गराउने मासिक सात सय भारूले सम्पूर्ण जीविका चलाउनुपर्थ्यो।
एकपल्ट राजनीति मिसिएको उनको रगत चुप बसेन। उनी सू की नेतृत्वको राजनीतिक दल एनएलडीको विदेश विभागमा काम गर्थे। भारतमा उनीहरू बर्माबाट विस्थापितहरूलाई भेट्थे। भारतकै राजनीतिक शक्तिहरूसँग छलफल चलाउँथे।
कहिलेकाहीँ बर्मामा प्रजातन्त्र बहालीमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन साना-ठूला प्रदर्शन पनि गर्थे। परिवारसँग दुर्लभ कुराकानी हुन्थ्यो। गाउँबाट लुकिछिपी आएका कसैले खबर ल्याउने-पुर्याउने गर्थे। चिठीपत्र र टेलिफोनमा कडा सरकारी निगरानी थियो।
सन् १९९५
एनएलडीको सम्पर्क कार्यालय सञ्चालन गर्ने र नेपालका राजनीतिक दल र बर्माको निर्वासित सरकारका प्रतिनिधि भेटघाट व्यवस्थित गर्ने जिम्मेवारीसहित उनी नेपाल आए। डिल्लीबजारको एउटा कोठामा कार्यालय खुल्यो। त्यही कोठामा उनी आफू पनि बस्थे।
त्यसबीच उनीसहित बर्मेली निर्वासित सरकारका प्रतिनिधिले नेपालका तत्कालीन प्रधानमन्त्री, राजनीतिक दलका नेतासँग भेटघाट, छलफल र अन्तर्क्रिया गरे। नेपाल संयुक्त राष्ट्रसंघको सदस्य र भर्खरै लामो संघर्षबाट प्रजातन्त्र पुनर्प्राप्ति गरेको देश हुनाले राष्ट्रसंघमा बर्माबारे धारणा र नेपाली प्रजातान्त्रिक आन्दोलनको अनुभवले उनीहरूलाई सहयोग हुने एनएलडीको विश्वास र सरोकार थियो।
करिब दुई वर्षको नेपाल बसाइमा अनिलले बर्माका नेपाली साथीको संगतको तृष्णा मेट्न पाए। बर्माबाट लखेटिएर काठमाडौं आइपुगेका नेपालीभाषीले पनि उनलाई मद्दत गरे।
अहिले हामीसँग कुराकानी सहज गराउने नेपाली भाषा पनि त्यतिबेलै 'अपडेट' भयो।
दुई वर्षपछि आर्थिक कठिनाइका कारण एनएलडीको काठमाडौंस्थित कार्यालय बन्द भयो। अनिल बर्मा नेपालबाट भारतै फर्किए। यसबीच उनको घरबाट सन्देश आयो। बुबाले आफ्नो सम्पत्ति सबै सन्तानलाई भाग लगाइदिने भएछन्।
उनले खबर पठाए 'मेरो भागको पनि उतै अरू दाजुभाइलाई दिनू।'
जीवन पूर्णकालीन राजनीतिक कार्यकर्ताको थियो। आर्थिक-सामाजिक कठिनाइको कुरै नगरौं।
बर्माको प्रजातान्त्रिक आन्दोलन उस्तै अनिश्चितताबाट गुज्रिरहेको थियो। उमेर ढल्किँदै थियो। परिवार र देशसँग बिछोड भएको युगौंजस्तै महशुस हुन थालेको थियो। जीवन घरिघरि चरम निराशाको चपेटामा पर्थ्यो। फेरि आफूजस्तै र आफूभन्दा खराब हालतमा भएकाले समेत गरिरहेको संघर्ष देख्थे र सम्हालिन्थे। सम्हालिनु सजिलो थिएन।
उनीसँगै राजनीतिक अभियानमा सक्रिय र बर्माबाट सँगै विस्थापितहरूले विस्तारै हरेस खान थालेका थिए। जीवनको लामो संघर्ष र अनिश्चितताले हरपल चिमोटी रहन्थ्यो। बर्माको राजनीतिले घरि क्षणभर उत्साह थप्थ्यो, लगत्तै झन् ठूलो निराशाको खाडलमा जाक्थ्यो।
अनिल देश फर्कन सक्थेनन्। उनी बसिरहेको देश उनको थिएन।
यसबीच बर्माका शरणार्थीका लागि तेस्रो देश पुनर्वासको कुरा चल्यो। वर्तमानको अन्योल र भविष्यको अन्धकारले उनी र उनका धेरै साथीलाई विश्वका विभिन्न देशमा छरिदियो। लामो अन्योल र अनिश्चितताका १८ वर्ष पार गरिसकेपछि अर्को अनिश्चितता थपियो। अर्को भूमि र अर्को भूमिका।
सन् २००९
अनिल एक्लै क्यानडा आइपुगे। नामको पछाडि देश बोकेर। आएको केही समयपछि बल्ल बर्मामा भएका परिवारका सदस्यलाई खबर गरे।
सबै थोक नयाँ थियो। १८ वर्षअघि देश छोड्दाको जस्तै। अठार वर्षअघि अठार वर्षकै हुँदा हिन्दी सिकेझैं अब अंग्रेजी सिक्नु थियो। जिउने नयाँ तरिका सिक्नु थियो। देश छाडेदेखि फेरि एकपटक पनि भेट नभईकन उनले आमाबुबा गुमाएको खबर पालैपालो पाए। अनिललाई लाग्यो यो बिरानो मुलुकमा उनी पनि मरी गए रोइदिने कोही छैन। उनको लास जलाइदिने कोही छैन। बेवारिसे मर्नु थिएन।
अस्पताल गएर मृत्युपछि उपयोग हुने गरी शरीर दान गरिदिए।
जीवनमा अनिश्चितता मात्र सुनिश्चित छ सायद। अनिलको जीवनमा नयाँ मोड आउनु थियो। जीवनले विस्तारै पालुवा लगाउनु थियो। आफन्त र भारतमा छुटेका केही साथीले जीवनलाई अलि गति दिन कोहीसँग सँगै हिँड्न सुझाए।
यस्तैमा उनकी अहिलेकी जीवन संगिनीको कुरा साथीहरूमार्फत् आयो। उनी बर्मामा थिइन्। अनिल बर्मा 'बर्मा' जान सक्थेनन्। उनी क्यानडाबाट दिल्ली गए। हुनेवाला श्रीमती पनि लुकिछिपी दिल्ली आइन्। ट्रान्जिटमा बिहे भयो। एघार दिन सँगै बसे र छुट्टिए। दिल्लीमा बिहे दर्ता भएन।
एक वर्षपछि अनिल फेरि दिल्ली गए। श्रीमती आइन्। अर्काको देशमा दुई स्वदेशी प्रेमी भेटिए। त्यसको करिब एक वर्षपछि खबर पाए, उनी बुबा भएछन्।
सन् २०१० मा विवाह भएका जोडीको बिहे दर्ता थिएन। तर, सन्तान थियो। अनिल श्रीमती र बच्चा दुवैलाई क्यानडा ल्याउन चाहन्थे। कागजले रोक्यो।
सन् २०१५ मा राजनीतिक अवस्था र आफ्नो सुरक्षाबारे थोरै सुनिश्चित भएपछि अनिल बर्मा जान तयार भए। डर कायमै थियो। बर्माका एक घनिष्ट साथी थिए, जो अहिले थाइल्यान्ड बस्थे। अनिलले उनलाई खबर गरे। क्यानडाबाट थाइल्यान्ड हुँदै बर्मा गए। ती साथी नेपालीभाषी थिए। सल्लाह थियो, उनी अनिलभन्दा अलि परै उभिनेछन्। एयरपोर्टमा अनिल पक्राउ परे भने क्यानडा दूतावास र परिवारमा खबर गरिदिनेछन्।
डर हराएको थिएन। ती साथीले भने, 'तिमीलाई केही भए र मलाई सोधे म सबै कुरा साँचो बताउनेछु। तिमी ढुक्क भएर जाऊ। केही हुँदैन। तिम्रो पछि गोर्खाली छ।'
अनिलले सास थामेर बर्माको एयरपोर्ट पार गरे। बाहिर आएर साथीलाई अंकमाल गरे। २४ वर्षपछि आफ्नो भूमि टेक्दा देश त उही थियो, तर सबथोक फेरिएको। आमाबुबा बितिसकेका। आफूलाई चिन्ने पुराना मान्छे कोही-कोही मात्र बाँकी। ठाउँ उही थियो। माटो उही। तर सबै बिरानो।
देश भन्नु पनि आफन्त मात्रै हुन् कि झैं लाग्यो उनलाई।
हिँड्ने मान्छेले छुट्ने बेला एउटा तस्बिर बोकेको हुँदो रहेछ आफ्नो ठाउँको। ऊ त्यही निर्जीव तस्बिर बोकेर सजीव जीवन उस्तै रहन्छ भन्ने मिठो भ्रममा बाँच्दो रहेछ। त्यो भ्रम नटुटेकै मिठो थियो।
सन्तान जन्मिएको चार वर्षपछि आमाबुबाको बिहे दर्ता भयो। अनिल क्यानडा फर्किए। २०१७ डिसेम्बरमा श्रीमती पनि छोरा लिएर क्यानडा आइपुगिन्। अहिले एउटी छोरी थपिएकी छन्। जीवन विस्तारै ढल्कँदै छ। जिम्मेवारीहरू नयाँ छन्। श्रीमतीलाई नयाँ जीवनमा अभ्यस्त गराउनु छ। सन्तानप्रतिको जिम्मेवारी पूरा गर्नुछ।
बर्मामा आंशिक प्रजातन्त्र आएको छ। संसदमा अझै पनि ७५ प्रतिशत मात्र जननिर्वाचित प्रतिनिधि र बाँकी २५ प्रतिशत सेनाको उपस्थिति छ। त्यो व्यवस्था परिवर्तन नहुन्जेल बर्माको प्रजातन्त्र दीगो नहुने अनिललाई लाग्छ। बर्मामा पछिल्लो समय देखिएको मानवीय र राजनीतिक संकटको जिम्मेवार अनिल धेरथोर यही व्यवस्थालाई मान्छन्।
कुराकानी बिसाउने बेला अनिलले नेपालका राजनीतिक दल, नेपाल र नेपालीको बर्मेली प्रजातन्त्र प्राप्तिको आन्दोलनप्रति सद्भाव र सहयोगप्रति कृतज्ञता ज्ञापन गरे। लामो समय भारतमा बसेकाले हुनसक्छ, भारतीय सन्दर्भसमेत जोड्दै उनले थपे, 'हामीलाई भारतले पनि निकै सहयोग गरेको थियो। तर, परिस्थितिअनुसार उसको रवैया फेरिन्थ्यो। नेपाली भने सधैं बर्मेली जनतासँगै उभिएको पाएँ।'
‘ठीक त्यसरी नै जसरी एयरपोर्टमा मेरा साथी मलाई आँट दिन उभिएका थिए।’
दृश्य बाहिर-
नेपाल जनाउने चिनो बोकेर हिँड्ने दाजु नेपालमा बीस वर्ष शरणार्थीका रूपमा बिताएका नेपाली मूलका भुटानी थिए। छुट्ने बेलामा उनले अनिल दाइलाई आफ्नो बारेमा 'नेपाली' मा भने र भावपूर्ण अंकमाल गरे। आँखाहरूमा माहोल टिल्पिलायो।
हामी तीन भिन्न देशका 'नागरिक' चौथो देशमा थियौं। हामीलाई सुरूमा नेपाली भाषाले जोडेको थियो। अब यी दुई दाजुहरू जीवनको उस्तै यथार्थले एकअर्कालाई आफन्त महशुस गर्दै थिए।
मेरो मस्तिष्कको ग्लोब अचानक अनियन्त्रित घुम्यो, अझै रोकिएको छैन...
सबै तस्बिर सौजन्यः नवीन प्राचीन