रक्सीको विज्ञापन प्रचार गरेको भन्दै फिल्म ‘बुलबुल’ को पोस्टर प्रहरीले हटाएको छ। महानगरीय प्रहरी परिसरले कानुनविपरीत रक्सीको विज्ञापन गरेर पोस्टर टाँसेपछि हटाउन थालेको जनाएको छ।
‘सार्वजनिक ठाउँमा रक्सीको नाम राखेर पोस्टर टाँस्न र विज्ञापन गर्न कानुनतः बन्देज छ,' परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भने, 'त्यही भएर हामीले बुलबुलको पोस्टर हटाउन थालेका हौं।’
गृह मन्त्रालयले रक्सीको विज्ञापन गरेको भन्दै पोस्टर हटाउन निर्देशन दिएको परिसरले जनाएको छ।
गृह प्रवक्ता रामकृष्ण सुवेदीले ‘बुलबुल’ फिल्ममा उल्लिखित रक्सीको विज्ञापन हटाउन प्रहरीलाई निर्देशन नदिएको बताएको छ। ‘गृह मन्त्रालयबाट पोस्टर हटाउन निर्देशन भएको छैन,’ उनले भने।
आइतबार परिसरले ‘बुलबुल’का निर्माता अविरल थापा र निर्देशक विनोद पौडेललाई कार्यालयमै बोलाएर पोस्टर हटाउन निर्देशन दिएको थियो। दुवैले पोस्टर हटाउने प्रतिबद्धता प्रहरीमा गरेका थिए। तर, जताततै पोस्टर टाँसिएकाले प्रहरी आफैंले हटाउन थालेको परिसरको भनाइ छ।
गृह मन्त्रालयका अनुसार मदिरा ऐनअनुसार सार्वजनिक ठाउँमा रक्सीको विज्ञापन गर्न पाइँदैन। तथापि, सार्वजनिक स्थानमा मदिराजन्य पदार्थको विज्ञापनका पोस्टर र होडिङ बोर्ड भने राखिएकै छन्।
फागुन ३ देखि ‘बुलबुल’ प्रदर्शन भइरहेको छ।