सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना अघि सारेको छ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेल प्रशिक्षक, कोचलगायतका दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको जानकारी दिए।
मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले सो विश्वविद्यालय स्थापना गर्न युवा तथा खेलकुद मन्त्रालयका सचिवको अध्यक्षतामा अध्ययन कार्यदल नै गठन गरिएको पनि जानकारी दिए।
मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि ३ वर्षभित्र काठमाडौं उपत्यकाभित्र अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाए।त्यसका लागि जग्गा प्राप्तिको कामलाई अघि बढाएको मन्त्री विश्वकर्माको भनाइ छ।
सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत् सो रंगशाला निर्माणका लागि जग्गा प्राप्तिको कामलाई अघि बढाएको छ। मन्त्री विश्वकर्माले सबै प्रदेशमा आधुनिक सुविधासम्पन्न रंगशाला निर्माणका लागि आवश्यक योजना पनि तय गरिएको जानकारी दिए।
सरकारले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता समयमै सम्पन्न हुने गरी कामलाई अघि बढाएको दाबी पनि गरेको छ।
बैठकमा बोल्दै समितिका सदस्यहरूले मुलुकको खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई सचेत गराएका थिए।
समितिका सदस्य जीवनराज श्रेष्ठले बजेटको अभावमा मुलुकको खेलकुद क्षेत्रको विकास हुन नसकेको उल्लेख गर्दै त्यसमा लगानी बढाउन सरकारसँग माग गरे।
समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले खेलाडीको छनोट निष्पक्ष ढंगले गर्न सरकारलाई सचेत गराए। उनले प्रतिभाशाली खेलाडीहरूलाई प्राथमिकता दिएर अघि बढे मुलुकले खेलकुदको क्षेत्रमा फड्को मार्ने पनि स्पष्ट पारे।
विश्वकर्माले सरकारले प्रतिभाशाली खेलाडीहरूलाई खेल खेल्न उचित वातावरण बनाउन नसकेको आरोप पनि लगाए।