करिब दुई किलोमिटर दूरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदमार्गले जोड्ने गुरुयोजना तयार भएको छ।
सम्पदा पदमार्गको गुरुयोजनाका लागि १० करोड रुपैयाँ काठमाडौं महानगरपालिकाले छुट्याएको छ।
‘गत वर्ष नै हामीले सम्पदामार्गको चित्र कोरेको हौं। बीचमा हामीले विभिन्न समयमा काम गर्दै गर्यौं। मार्ग चित्रण गर्यौं। सोही अनुसार पदमार्गको मास्टर प्लान बनाएका हौं,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने।
सम्पदा पदमार्ग २.२ किलोमिटर हुनेछ। सम्पदा पदयात्राले त्यो क्षेत्रभित्रका स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवर्द्धन गर्ने, स्थानीय जनताको आर्थिक विकासमा टेवा पुर्याउने, आन्तरिक एवं बाह्य पर्यटन विकास गर्ने र सम्पदाको मूल्य मान्यताबारे चेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
यसका लागि स्थानीयको पनि राम्रो सहयोग भएको महानगरपालिकाले जनाएको छ।
‘महानगर सम्पदा र संस्कृतिले भरिपूर्ण छ। यसका लागि पहिलादेखि छलफल चलाएका हौं,’ प्रवक्ता डंगोलले भने, ‘यहाँ व्यवस्थित धारा नहुँदा मरुहिटी कसरी प्रयोगमा आयो? हामीले विगतमा कसरी तेल उत्पादन गर्यौं? चिउरा, रक्सी कसरी बनाउँथ्यौं? भन्ने हामी देखाउँछौं। यो बीचमा पर्ने चोकदेखि गल्ली सबैलाई सम्पदामैत्री बनाउने हो।’
काठमाडौं महानगरका मूर्त एवं अमूर्त सम्पदाको पहिचान, पुस्तान्तरण तथा सम्वर्द्धन कार्यमा पनि यो पदयात्रा उपलब्धिपूर्ण हुने महानगरले जनाएको छ।
सम्पदा पदयात्रा क्रममा हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भूसम्म पुग्दा इतिहासको विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल जस्ता सम्पदा अवलोकन गर्न सकिनेछ। महानगरपालिकाले ती सम्पदा पहिचान गर्न विभिन्न संकेत चिह्न राख्ने, स्थानीय घरलाई परम्परागत स्वरुपमा ल्याउने, ठाउँठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्र प्रदर्शन गर्ने, मार्गमा भएका पाटी, पौवा तथा सत्तलको मर्मत, सम्भार तथा संरक्षण गर्ने कार्य गर्ने बताएको छ।
‘यहाँ भएका मठमन्दिरबारे विस्तृत जानकारी दिने, ठाउँठाउँको इतिहास उल्लेख गर्ने गरी कहाँ के बनाउने र कुन भाषा प्रयोग गर्ने भन्ने
छुट्याएका छौं। यो क्षेत्रमा त्यसबारेको विस्तृतमा जानकारी दिने हो,’ डंगोलले भने।
सम्पदा पदमार्गको रुट हनुमानढोकाको काष्ठमण्डप, मरु गणेश, मरु हिटी, सन्तानेश्वर महादेव, मरुबही, मिच्याः गल्ली, बन्जाः हिटी, साः (तेल मिल), चस्वांद्वँ, दमाइ टोल, सुन्ता गल्ली, पाछै गल्ली, नरदेवी द्यःछेँ, आयुर्वेदिक अस्पताल, सामुदायिक (लोकेश्वर) गल्ली, बुरांखेल, म्येछ्यों हिटी, तप्यँताँ, रञ्जित मल्ल सतः घाट, भेलु महादेव, डल्लु चौतारा, निपु हिटी (भीमसेन मन्दिर), धिमे ल्वहं, चारा हिटी, भुइखेल हुँदै स्वयम्भू हुनेछ।
दुई सम्पदा जोड्ने पदमार्गमा अवस्थित मूर्त एवं अमूर्त सम्पदा तथा सांस्कृतिक परम्पराको अभिलेखीकरण, प्रवर्द्धन र संग्रह गर्ने पनि महानगरको योजना छ। यसका लागि आर्ट ग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ।
पदमार्ग हिँड्नका लागि मात्र बनाइने भएकाले त्यस क्षेत्रलाई सवारीमुक्त बनाइने महानगरले जनाएको छ।
यसैगरी, महानगरले पदमार्ग क्षेत्रमा भूकम्पले भत्काएका घरलाई मौलिक शैलीमा बनाउने भए सहयोग गर्ने भएको छ। नयाँ बन्ने घरलाई पनि पुरानो शैलीमा बनाउन प्रेरित गर्ने भएको छ।