नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी समूहका मध्यकमाण्ड सदस्य वीरबहादुर कठायत पक्राउ परेका छन्।
नख्खु विस्फोट, वैदेशिक रोजगार महासंघ अध्यक्ष रोहन गुरुङको घरमा बम बिस्फोट कार्यमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले सोमबार राति सुन्धाराबाट उनलाई पक्राउ गरेको हो। यस्तै, जुम्ला इञ्चार्ज चन्द्रवीर सिरुवालाई पनि पक्राउ परेका छन्।
प्रहरी स्रोतका अनुसार दुबै जुम्लाका हुन्। कठायत मध्यकमाण्ड स्पेसल टास्क फोर्स सदस्य हुन्। प्रहरीका अनुसार यो फोर्स बम विस्फोटलगायत विध्वंसात्मक गतिविधिमा संलग्न छ। जुम्लाका गाउँपालिकाहरूमा तोडफोड गरेको अभियोगमा उनीविरूद्ध जुम्लामा पनि मुद्दा छ।
सिरुवाको साथबाट कटुवा पेस्तोलको दुई राउन्ड गोली, चन्दाको रसिद तथा पर्चाहरू फेला परेको छ। उनीविरूद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले हात हतियार तथा खरखजाना मुद्दामा अनुसन्धान थालेको छ। कठायतलाई आवश्यक अनुसन्धानका लागि ललितपुर परिसर पठाइएको महाशाखाले जनायो।