लुम्बिनी विश्व शान्ति ग्रामका परिकल्पनाकार,योजनाकार प्राध्यापक क्वाक योङ हुनले प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलसँग भेट गरेका छन्।
मंगलबार भएको उक्त भेटघाटमा प्रा. डा. क्वाकले लुम्बिनी विश्व शान्ति ग्रामका बारेमा जानकारी गराएका थिए।
भेटमा प्रा. डा. क्वाकले लुम्बिनीलाई विश्वकै आकर्षक र शान्ति सहर बनाउन सकिने योजना कार्यान्वयनमा अग्रसर हुन मुख्यमन्त्रीलाई अनुरोध गरे।
क्वाकले अघि सारेको लुम्बिनी विकासको योजना अहिलेको लुम्बिनी विकास कोषले काम गरिरहेको क्षेत्र भन्दा बाहिरको हो।
बौद्ध दर्शनमा आधारित रहेर निर्माण गर्न लागिएको शान्ति सहर बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सबैका लागि आकर्षक बनाउने र लुम्बिनीको महत्व बढाउने खालको रहेको क्वाकको भनाइ छ ।
भेटमा मुख्यमन्त्रीले लुम्बिनी विकास कोष क्षेत्र संघीय सरकारसँग रहेको र त्यसभन्दा बाहिरको क्षेत्र प्रदेशलाई जिम्मा दिन माग गरेको बताए।
संघीय सरकारले जमिन एकीकृत गरी अघि बढ्न प्रदेश सरकारलाई अधिकार दिए प्रक्रियामा अघि बढ्न सकिने उनले बताए। मुख्य मन्त्री पोखरेलले लुम्बिनीको विकासका लागि क्वाकको चासोको प्रशंसा गर्दै भेटेर कुरा गर्न पाउँदा खुसी लागेको बताए।