सरकारले सदनमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकविरूद्ध नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने र काउन्सिललाई सरकारले नियन्त्रण गर्न खोजेको विरोधमा महासंघले केन्द्रदेखि जिल्लासम्म आन्दोलन गर्ने कार्यक्रम तय गरेको छ।
पहिलो चरणको आन्दोलन सकिँदासम्म पनि सरकारले महासंघले उठाएका मागहरू सम्बोधन गर्ने तर्फ कुनै गम्भीरता नदेखाएकोले दोस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
जेठ ६ गतेदेखि २५ गतेसम्म आन्दोलन गर्ने महासंघको निर्णय छ।
जसअनुसार सोमबार र मंगलबार महासंघका पूर्वअध्यक्षहरूसँग छलफल र परामर्शका कार्यक्रम छ।
महासंघले बानेश्वरदेखि बबरमहलसम्म हाते साङ्लो बनाइ प्रदर्शन गर्ने र मिडिया काउन्सिल विधेयक सदनमा पेश हुने दिन देशव्यापी आकस्मिक विरोध कार्यक्रम गर्ने जनाएको छ।