क्यानडामा राम्रो तलवसहितको रोजगारी दिलाइदिने प्रलोभन देखाएर ठगी गर्ने अभियुक्त योगेश सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।
नुवाकोट मेघाङका सापकोटालाई प्रहरीले बनेपाबाट पक्राउ गरेको हो। अभियुक्तलाई मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ। अन्य अभियुक्तहरुको खोजी भइरहेको छ।
पीडितको नाम भने गोप्य राखिएको छ। पीडितलाई क्यानडा जानको लागि २२ हजार अमेरिकी डलर देखाएपछि मात्रै इटिए (यात्राको विद्युतीय अनुमतिपत्र) पाइने भन्दै अभियुक्तहरुले आश्वासन देखाएका थिए। त्यसपछि पीडितका बुवा र मामा २२ हजार ५९ डलर लिएर दिल्ली पुगे।
पीडितलाई क्यानडा लैजान भन्दै इन्दिरा गान्धि एयरपोर्टमा लगियो भने केहीले बाबु र मामालाई एक होटलमा लगे। होटलमा लगिएपछि दुवैलाई बेहोस बनाई रकम लुटपाट गरिएको प्रहरीले जानकारी दिएको छ। साथै अभियुक्तहरुले किड्नी निकाल्ने योजना समेत बनाइएको प्रहरीले जनाएको छ।