गोरखा बजारबाट ९ किलोमिटर पूर्व लागेपछि खाब्दी भञ्ज्याङ आउँछ। भञ्ज्याङ आसपास बाक्लो बस्ती छ। २०७२ को भुइँचालोपछि नयाँ घर थपिएका छन्।
यही बस्तीबीच मुख्य सडक छाडेर केही खुड्किला ओर्लेपछि चिटिक्क सजाइएको भवन देखिन्छ। यो वडाध्यक्ष शरण श्रेष्ठले सिँगारेको वडा कार्यालय हो, जहाँ प्रशासनिक काम लिएर आउने सेवाग्राहीलाई थकाइ मार्न चौतारी बनाइएको छ, बस्ने मेचहरू छन्। तिर्खा लागे पिउने पानी छ। हुलाक टिकट र फोटोकपी गरेको पैसा लाग्दैन। इन्टरनेट सेवा पनि नि:शुल्क छ।
पानी चुहिने गरी जीर्ण भइसकेको यो भवन स्थानीय तह निर्वाचनपछि मर्मतसम्भार गरिएको हो। यो भवनबाट पहिले बुंकोट गाविसको कामकाज हुन्थ्यो। झाडी र फोहोरले कार्यालय परिसर ढाकेको थियो।
गाउँपालिकाले कार्यालय भवन मर्मत गर्न पाँच लाख दियो। वडाध्यक्ष श्रेष्ठले साथीभाइसँग सहयोग खोजेर पानी छान्ने फिल्टर, टिभी, फोटोकपी पेपर, हुलाक टिकट लगायत जोहो गरे। गाउँपालिकाको सहयोगमा सिसी क्यामेरा जडान गरे।
‘गाउँपालिकाको बजेटबाट ५० मिटर पर्खाल र तारबार लगाइयो,’ उनले भने, ‘केही माटो कटिङ पनि गर्नुपर्ने थियो।’
कार्यालयमा सेवाग्राहीको काम छिटोछिरतो गर्न र कर्मचारीसँग समन्वय निम्ति उनले इन्टरकम टेलिफोन सेवा पनि राखेका छन्।
भवनभित्र वडाध्यक्ष, प्रशासन, प्राविधिक तथा सामुदायिक सिकाइ केन्द्र, रेडक्रस लगायत बेग्लाबेग्लै कोठा छन्। ती कोठाहरू मात्र होइन, बाहिर पनि कार्पेट बिछ्याएर सफा राखिएको छ।
कार्यकक्षमा सोफा सजाइएको छ, जसमा वडाको बैठकका अतिरिक्त सेवाग्राहीहरू बस्न पाउँछन्। ‘सेवाग्राहीलाई चियाको व्यवस्था गरेको छु,’ उनले भने, ‘खाजा खाने बेला आइपुग्ने जोकोही सेवाग्राहीलाई खाजा खुवाउँछौं।’
वडाभित्रका सामुदायिक विद्यालयमा कक्षा ३ सम्म पढ्ने बालबालिकाले पनि यहाँ खाजा खान पाउँछन्। ‘बोर्डिङमा विद्यार्थीको आकर्षण कम गराउन सरकारी विद्यालयमा खाजाको व्यवस्था गरेको हो,’ उनले भने।
वडाध्यक्ष श्रेष्ठले आफूले पाउने मासिक पारिश्रमिक र भत्ता पनि सामाजिक काममा खर्च गरेका छन्। मासिक १८ हजारका दरले पाएको पारिश्रमिकले उनले सामुदायिक स्कुलमा पढ्ने विद्यार्थीलाई अंग्रेजी किताब किनिदिएका छन्।
वडावासीको स्वास्थ्यमा पनि ख्याल दिइएको उनले सुनाए। ‘सातमा एक दिन गोरखा अस्पतालबाट चिकित्सक ल्याएर गाउँलेको स्वास्थ्य जाँच्न थालिएको छ,’ उनले भने, ‘हरेक महिनाको पहिलो मंगलबार आँखा शिविर गर्छौं। औषधि आवश्यक पर्नेलाई नि:शुल्क दिन्छौं।’
वडा कार्यालय नजिकैको स्वास्थ्य केन्द्रमा प्रयोगशाला निर्माण गर्न लागिएको पनि उनले बताए।
‘प्रयोगशाला नहुँदा गाउँलेको उपचारमा समस्या भइरहेको छ। फ्रान्सको एक संस्थासँग समन्वय गरी चार लाख बराबरको उपकरण ल्याइसकिएको छ,’ उनले भने।