पर्वतको महाशिला गाउँपालिका ४ धुवाकोटमा फलामको पोल गाढ्ने क्रममा दुई जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान गाँउपालिकाको योजना अनुसार काठको पोललाई परिवर्तन गरी फलामको पोल गाढ्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्र बहादुर क्षेत्री छन्। भरत क्षेत्री घाइते भएका छन्। गाउँपालिकाले गाउँका सबै काठे पोलहरु विस्थापित गर्दै फलामको पोल राख्न लागेको थियो।
त्यही क्रममा करेन्ट प्रवाह भएको लाइन छुट्टायाउन बिर्सिँदा करेन्ट लागेको गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेलले बताए। घाइतेको उपचार लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको र खतरामुक्त भएको अध्यक्ष पौडेलले बताए।
मृतकको पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा लगिएको छ।