काठमाडौं महानगरपालिकाले चलचित्र हललाई मनोरञ्जन शुल्क बापतको कर बुझाउन समयसीमा तोकेको छ।
हलहरूले मनोरञ्जन शुल्क बापतको कर नबुझाएपछि महानगरको राजस्व विभागले भदौ १७ सम्म कर तिर्न समयसीमा तोकेको हो।
महानगरभित्र ४२ वटा सिनेमा हल छन्। जसमध्ये गएको वर्ष (आर्थिक वर्ष २०७५/०७६) मा ४ वटा हलले मात्र कर तिरे।
राजस्व विभागका प्रमुख नुरनिधि न्यौपाने भन्छन्, ‘टिकट विक्रीसँगै संकलन भएको शुल्क पनि महानगरमा नबुझाएपछि यसमा हामी गम्भीर भएका हौं।’
उनका अनुसार गएको वर्ष ४ वटा हलले मनोरञ्जनवापतको शुल्क बुझाउँदा १९ लाख रुपैयाँ संकलन भएको थियो।
प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र हलहरूले चलचित्र प्रदर्शन गर्दा प्रति टिकट विक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाइसक्नुपर्छ।
‘यो व्यवस्था पालना हुनु त कता हो कता, गएको वर्ष तिर्नुपर्ने कर तिर्न समेत चासो देखिएन’, विभागीय प्रमुख न्यौपानेले थप्दै भन्छन्,‘ऐनको दफा ४ (३) बमोजिम हामीले चलचित्र घरहरूलाई बक्यौता रकमसमेत लिएर आउन सूचना जारी गरेका छौं।’