कपिलवस्तु, सर्लाही र चितवनमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिका-१ बुङ्चिस्थित पूर्वपश्चिम राजमार्गमा लु३त ७२७२ नम्बरको ट्याक्टर शनिबार साँझ खाल्डोमा पल्टिँदा गम्भीर घाइते भएका ट्याक्टर चालक २७ वर्षीय रामु थारु र सोही ठाउँ बस्ने १७ वर्षीय रंजित बोटेको सामुदायिक अस्पताल पिपरामा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अन्य तीन जनालाई उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल पिपरा पठाइएकोमा थप उपचारको लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको छ।
यस्तै, सर्लाहीको बागमती नगरपालिका-८ गिरिटोलस्थित सडकमा बा३१प ६८०२ नम्बरको मोटरसाइकलले शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ५० वर्षीय पैदलयात्री ईन्द्रबहादुर कुशवारको एडभान्स सञ्जीवनी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको छ।
चितवनको कालिका नगरपालिका-७ गैडाखोलास्थित सडकमा ना३त १३३५ नम्बरको ट्याक्टरले ना४१ प ९८४९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका २८ वर्षीय विकास श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३० वर्षीय मुकेश पौडेलको सोही अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी, चितवन राप्ती नगरपालिका-४ मार्तल पुलस्थित पूर्वपश्चिम राजमार्गमा युपी२१ सिएन ३१८८ नम्बरको भारतीय ट्रकले ना१२ प ४९०२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्ती नगरपालिका-६ बस्ने २५ वर्षीय सरोज तामाङको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।