कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका पूर्वसांसद योगेन्द्र घिसिङलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले पाँच हजार धरौटीमा रिहा गरेको छ।
मंगलबार प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले घिसिङलाई धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएका हुन्।
घिसिङ भदौ २४ गते भैंसेपाटीबाट पक्राउ परेका थिए।
सार्वजनिक बसमा सँगै बसेकी युवतीले दुर्व्यवहार गरेको आरोप लगाएपछि घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिइएका घिसिङलाई अभद्र व्यवहार गरेको कसूरमा मुद्दा चलाइएको थियो।
महानगरीय प्रहरी परिसर ललितपुरबाट मुद्दा चलाइएका घिसिङले इन्कारी बयान दिएका थिए।
‘सिट साँघुरो थियो, सँगै बसेका बेला कुहिनोले शरीर छोएपछि उनले दुर्व्यवहार गरेको आरोप लगाइन्,’ घिसिङको बयान उद्धृत गर्दै प्रशासनले भन्यो, ‘जानाजान दुर्व्यवहार गर्ने मनसाय थिएन।’
रत्नपार्कबाट ललितपुरको भैंसेपाटी जाने क्रममा घटना भएको युवतीले बताएपछि घिसिङलाई अन्य यात्रुसमेतले प्रहरीमा बुझाएका थिए।
घिसिङ संविधानसभाको दोस्रो निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट समानुपातिक सभासद थिए।