मेडिकल कलेजले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएको बिरोधमा चितवन मेडिकल कलेजमा विद्यार्थीले आइतबार तालाबन्दी गरेका छन्।
चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा विद्यार्थीले उक्त मेडिकल कलेजको शैक्षिक भवनमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्। सरकारले तोकेको शुल्कविपरीत उक्त मेडिकल कलेजले पाँच लाखभन्दी बढी रकम उठाएको विद्यार्थीले गुनसो गर्दै आएका छन्।
उठाइएको बढी शुल्क फिर्ता गर्न सरकारले अनुरोध गरे पनि मेडिकल कलेजले नगरेपछि विद्यार्थी आन्दोलनमा छन्। विद्यार्थीले आन्दोलन थालेपछि मेडिकल कलेजहरूको पठन-पाठन अवरुद्ध बन्दै आएको छ।
‘बढी शुल्क फिर्ताका लागि आन्दोलन तथा प्रशासनमा पटक-पटक अनुरोध गर्दा पनि फिर्ता नभएपछि दबाबस्वरुप तालाबन्दी गर्नुपरेको हो,’ संघर्ष समितिका संयोजक प्रकाश चन्दले भने, ‘शुल्क फिर्ता नभएसम्म ताला खोल्दैनौं।’
सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। तर, मेडिकल कलेजहरूले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थीको गुनासो छ।
विद्यार्थीका अनुसार होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजले अतरिक्त शुल्क उठाइएको छ। चिकित्सा शिक्षाका विद्यार्थी आन्दोलनमा रहे पनि सरकारले उनीहरूको माग सम्बोधनको पहल गरेको भने छैन।