राजश्व अनुसन्धान विभागले सूर्तीजन्य वस्तु उत्पादन गर्ने कम्पनीहरूविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ। ग्रीन टोबागो कम्पनी प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठसहित आधा दर्जन व्यक्ति तथा कम्पनीविरूद्ध विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
१० करोड १५ लाख बिगो, दोब्बर जरिवाना र तीन वर्ष कैद सजाय माग गर्दै विभागले सोमबार अदालतमा मुद्दा दायर गरेको हो। मुद्दा दायर गरिएकाहरूमा सफिन एन्ड ब्रदर्श इन्टरप्राइजेज र त्यसका प्रोप्राइटर सरोज केसी, आरएस स्टोर र प्रोप्राइटर मुकेश अग्रवाल, अभिनव सूर्ती उद्योग र सुष्मा गोयन्का, गोल्डेन टोबागो, सहयोग सूर्ती उद्योग र सञ्चालक दिनेश बसुकला, ओम साई सूर्ती उद्योग र जानुका कार्की छन्।
अनुसन्धानमा ती कम्पनीले मूल्य अभिवृद्धि कर एक करोड ३८ लाख ८४ हजार ४१६, अन्तशुल्क ८ करोड ५१ लाख ८१६, स्वास्थ्य सेवा जोखिम करतर्फ ६ लाख ३२ हजार १२१ र आयकर १९ लाख २२ हजार ४६ रुपैयाँ छलेको देखिएको विभागले जनाएको छ।
उनीहरूले प्रचलित कानुन बमोजिम अन्तशुल्क स्टिकर नलगाई सूर्तीजन्य वस्तु निष्काशन गरी बिक्री गरेको, चलानबाट सामान बिक्री गर्ने गरेको, भौतिक गणनामा राखेको अभिलेखमा मौज्दात समेत फरक परेको र कर छलीसँग सम्बन्धित गलत कागजातहरू बनाएको विभागले जनाएको छ।