विभिन्न सरकारी निकायहरूबाट लामो समयदेखि अतिक्रमण हुँदै आएको टुँडिखेललाई खुला सार्वजनिक स्थलमा परिणत गर्न जागरूक नागरिकहरूबाट सञ्चालित 'मुक्त टुँडिखेल' अभियान पाँचौं सातामा प्रवेश गरेको छ।
अभियन्ताहरूले दक्षिण एसियाली खेलकुद (साग) को सन्दर्भ पारेर शनिबार आयोजित पाँचौं साताको कार्यक्रमलाई खेलकुदको विकासमा खुला स्थलको महत्वसँग जोडे। यसपालिको नारा 'देशका लागि खेलाडी, खेलाडीका लागि खुला टुँडिखेल' थियो।
सागमा नेपाली खेलाडीहरूले राम्रो प्रदर्शन गरेका छन्। अहिलेसम्म ४३ स्वर्ण जितिसके। खेलकुद निम्ति न्यूनतम पूर्वाधार भनेकै चउर हो। जहाँ खुला चउर हुँदैन, त्यहाँ खेलाडीहरूले अभ्यास गर्ने ठाउँ पाउँदैनन्। अभ्यासको अवसर नपाएसम्म नयाँ पुस्ताका खेलाडी जन्मन सक्दैनन्। त्यसैले, खेलकुदको समग्र विकास निम्ति टुँडिखेल लगायत खुला सार्वजनिक स्थलहरूको महत्वमा 'मुक्त टुँडिखेल' अभियानले जोड दिएको हो।
शनिबार टुँडिखेलभित्र सहिदगेटको उत्तरपूर्वमा रहेको गुरूमापाको रूखमुनि विभिन्न खेलकुद गतिविधि आयोजना गरियो। युनिटी तेक्वान्दो दोजाङका खेलाडीले आफ्नो खेल दर्शन गरे। दोजाङमा प्रशिक्षण लिइरहेका साना नानीबाबुहरूले पनि आफ्नो खेल देखाएका थिए।
टुँडिखेलमा क्रिकेट खेल्न आउनेहरूले अभियानमा ऐक्यबद्धता जनाउँदै आ-आफ्नो धारणा राखे। उनीहरूले टुँडिखेलमा क्रिकेट, फुटबल खेल्न आउँदाको अनुभव बाँडेका थिए। नयाँ पुस्ताका खेलाडीलाई पर्याप्त अभ्यासको वातावरण दिन पायक पर्ने ठाउँहरूमा खुला सार्वजनिक स्थलको खाँचो पर्ने उनीहरूले बताए।
'मैदानमा छेकबार लगाएसम्म कुनै पनि राष्ट्रको खेलकुद क्षेत्र विकास हुने कल्पना गर्न सकिन्न,' उनीहरूले भने, 'हामी पनि गोल्ड ल्याउँछौं, हामीलाई खेल्न खुला टुँडिखेल त देऊ।'
टुँडिखेलको महत्वपूर्ण हिस्सा खुलामञ्चलाई मानव सांग्लोले घेरेर सुरू यो अभियानअन्तर्गत प्रत्येक शनिबार टुँडिखेलकै बीचमा जनचेतनामूलक कार्यक्रम हुँदै आएको छ।
एउटा शनिबार टुँडिखेलको पुरानो सम्झना सजीव पार्दै नयाँ र पुरानो पुस्ताका प्रतिनिधिले खरीको बोट रोपे। त्यसपछिको शनिबार टुँडिखेलसहित खुला स्थलको महत्व झल्काउने गरी कविता वाचन गरियो। त्यस्तै, टुँडिखेलको ऐतिहासिक, सांस्कृतिक, पर्यावरणीय र सम्पदा महत्वमाथि सम्बन्धित क्षेत्रका विज्ञहरूले प्रकाश पारे।
काठमाडौंको वातावरण, भूमिगत पानी व्यवस्थापन र स्वस्थ जीवनयापनका लागि अपरिहार्य यो खुला चउर बसपार्क, अनधिकृत पसल सञ्चालन, पार्किङ, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ बनाएर मासिँदै छ।
विगतमा रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको टुँडिखेललाई पुरानो स्वरूपमा फर्काउने र कुनै पनि भौतिक संरचना नभएको खुला सार्वजनिक स्थलमा परिणत गर्ने उद्देश्यले नागरिक स्तरमा यो अभियान सुरू भएको हो।
यसअन्तर्गत आयोजना गरिँदै आएको जनचेतनामूलक जमघट आगामी सात सातासम्म कायम रहनेछ।
सबै तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी