शुल्क बढाउने प्रस्ताव गरेपछि त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई मंसिर ९ गते विद्यार्थीले निर्घात कुटे। उनी घाइते भएर अहिलेसम्म उठ्न सकेका छैनन्।
यता उनलाई कुटेर अभद्र व्यवहार गरेको अभियोग लागिकन दुई विद्यार्थी धरौटीमा छुटिसके।
न्यौपानेले आफूलाई कुटपिट गरेर घाइते बनाउने विद्यार्थीलाई उचित कारबाही नभएको बताएका छन्।
क्याम्पसले स्नातक तह पहिलो वर्षमा मानविकी र विज्ञान संकायमा भर्ना शुल्क वृद्धि गरेको विरोधमा विद्यार्थीले न्यौपानेमाथि मंसिर ९ गते आक्रमण गरी घाइते बनाएका थिए। घटनाको दुई साता भए पनि क्याम्पस प्रमुख न्यौपाने तंग्रिएका छैनन्। हात र खुट्टामा लगाइएको ब्यान्डेज खोलिएको छैन।
घटनामा संलग्न रहेको आरोपमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ विद्यार्थी संगठन अनेरास्ववियुका गोविन्द थपलिया र मनराज थापा पक्राउ परेका थिए।
उनीहरूविरूद्ध प्रहरीले अभद्र व्यवहार गरेको मुद्दा चलायो। अभद्र व्यवहारसम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालय प्रमुख (सिडिओ)ले हेर्छन्। उनीहरूलाई अहिले १५ /१५ हजार धरौटीमा छोडिएको छ।
न्यौपानेले भने सामूहिक रूपमा त्यसरी आफूलाई निर्घात पिट्ने विद्यार्थीलाई धरौटीमा छोड्न नहुने भन्दै गुनासो गरेका हुन्।
‘त्यो सामान्य अभद्र व्यवहारमात्र थिएन,’ उनले भने, ‘पचासौं जनाले कुटेको भिडियो त मैले प्रहरीलाई दिएको छु। त्यति हुँदा पनि धरौटीमा सजिलै छोड्ने पनि सजाय हुन्छ?’
फौजदारी अपराध संहिताको दफा ११८ मा अभद्र व्यवहार कस्तोलाई भनिन्छ भन्ने उल्लेख छ।
‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन,’ संहितामा भनिएको छ, ‘कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।’
क्याम्पसको प्रमुखलाई कुट्ने विद्यार्थीलाई सामान्य अभद्र व्यवहारको मुद्दा लगाउनु प्रहरीको बाध्यता रहेको काठमाडौं प्रहरीका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले बताए।
‘हुन त क्याम्पस प्रमुखलाई त्यसरी कुटेर घाइते बनाउनलेलाई अभद्र व्यवहारमामात्रै मुद्दा लैजानु कता-कता नमिलेको हो कि जस्तो देखिन्छ,’ उनले भने, ‘तर, जाहेरी जसरी पर्यो हामीले त्यसमाथि नै अनुसन्धान गरेर मुद्दा चलाउनु पर्छ। यो घटनामा कि त ज्यान मुद्दा लगाउनुपर्थ्यो। त्यस्तो जाहेरी परेको छैन। लगाउन सकिने भनेको यही अभद्र व्यवहार हो।’
उनका अनुसार कुटपिटमा मुद्दा लगाएको भए अभद्र व्यवहार गरेको कसुरमा भन्दा बढी सजाय हुन्थ्यो, तर कुटपिटमा मुद्दा चलाउने अधिकार प्रहरीलाई छैन।
‘कुटपिट आकर्षित त हुन्थ्यो तर क्याम्पस प्रमुखज्यू आंफैले अदालतमा मुद्दा हाल्न जानुपर्छ। कुटपिट मुद्दा सिधै अदालतमा लाग्छ। बरू पछि हामीले प्रमाण जुटाउन मद्दत गर्ने हो,’ काठमाडौं प्रहरीका प्रवक्ता बोगटीले भने।
काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल चन्द्रकान्त खनालले पनि कुटपिटमा अझै मुद्दा लगाउने ठाउँ भएको बताए।
‘प्रहरीमा उहाँले जाहेरी नै अभद्र व्यवहारको कानुन आकर्षित हुने गरी दिनुभएको छ। हामीले त्यसैले सिडिओ कार्यालयमा मुद्दा लग्यौं। तर, पीडित आफैले सिधै अदालतमा गएर कुटपिटमै मुद्दा दिन पनि पाउनुहुन्छ,’ उनले भने।
कसैलाई शारीरीक पीडा हुने गरी कुटपिट गरे तीन वर्ष कैद वा तीस हजार जरिवाना वा दुवै सजाय गर्न सकिने कानुनी व्यवस्था छ।
त्यस्तो कानुन भए मुद्दा दिनेबारे आफूले सोच्ने क्याम्पस प्रमुख न्यौपानेले बताए।
‘कुटपिटको मुद्दा आफैंले हाल्नुपर्ने कुरा मलाई थाहा थिएन। म अस्पतालमा उपचार गरिरहेको थिएँ। अझ पनि त्यसबारे सल्लाह गर्नुपर्ला। तर, मलाई चाहिँ दिनदहाडै क्याम्पसमा हुलदंगा गरेर प्रमुखलाई निर्घात कुट्नेहरूलाई राज्यले जसरी छुट दिइरहेको छ त्यसरी दिनुहुन्छ भन्ने लाग्दैन। हाम्रो सुरक्षाको जिम्मा राज्यको हो,’ उनले भने।