किङ्स इलेभेन पंजाबले राजस्थान रोयल्सलाई जारी आईपिएलमा दोश्रो पटक पनि पराजित गरेको छ।
मंगलबार भएको खेलमा पंजाबले राजस्थानलाई १२ रनले पराजित गरेको हो। जारी सिजनमा पंजाबको यो पाँचौं जित हो। जितसँगै पंजाब लिगको चौथो स्थानमा पुगेको छ।
हिजोको खेलमा पंजाबले टस हारेर पहिले ब्याटिङ् गर्ने निम्तो पाएको थियो। उसले ६ विकेटको नोक्सानीमा १८२ रन बनायो। त्यसपछि १८३ रनको लक्ष्य पछ्याउन आएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन मात्र बनाउन सक्यो।
राजस्थानको ८ खेलमा यो छैटौं हार हो। यसअघिको म्याचमा पनि राजस्थान पंजाबसँग १४ रनले पराजित भएको थियो।
पंजाब मंगलबारको खेलमा दुई परिवर्तनसहित मैदानमा आएको थियो।
उसले स्याम करेनको सट्मा डेविड मिलर सरफराज खानको सट्टा अर्शदीप सिंहलाई अन्तिम ११ मा समावेश गरेको थियो। यस्तै राजस्थानले ३ वटा परिवर्तन गरेको थियो। एश्टन टर्नरले आईपिएलमा हिजो पहिलो खेल खेले। उनलाई स्टीव स्मिथको सट्टामा ल्याइएको हो। स्टुअर्ट बिन्नी तथा ईश सोढीलाई पनि राजस्थानले हिजो मौका दियो।
पहिले ब्याटिङ गरेको पंजाबले लोकेश राहुल र डेविड मिलरले क्रमश: बनाएको ५० र ४० रनको सहयोगमा १८२ रनको स्कोर खडा गरेको थियो। यस्तै उसका लागि क्रिस गेलले ३०, मयंक अग्रवालले २६ तथा कप्तान रविचन्द्रन अश्विनले १७ रनको योगदान दिए।
राजस्थानका लागि जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिदां धवल कुलकर्णी र जयदेव उनादकटले १-१ विकेट लिए।
बलियो लक्ष्य पछ्याउन आएको राजस्थानले राम्रो सुरूवात गर्यो।
ओपनर राहुल त्रिपाठी र जोस बटलरले क्रमश: ५० र २३ रन जोडे। यसक्रममा उनीहरूले चार ओभरमा टोलीको स्कोर ३८ बनाएका थिए। पाँचौ ओभरमा ठूलो सट खेल्ने क्रममा बटलर आउट भए। त्यसपछि त्रिपाठी र सन्जु स्यामसनले १२ औं ओभरमा टोलीलाई ९७ रनमा पुर्याए। यस स्कोरमा स्यामसन २७ रन बनाउँदा आउट भए।
स्यामसनको सट्ट्मा आएका कप्तान अजिंक्य रहाणेले २१ बलमा २६ रन जोडे। राजस्थानलाई अन्तिम ३ ओभरमा जितका लागि ५० रनको आवश्यक्ता भयो। यसक्रममा स्टुअर्ट बिन्नीले १० बलमा २९ रनको पारी खेले तर टोलीलाई जित दिलाउन असफल भए। पंजाबका लागि यस खेलमा रविचन्द्रन र मोहम्मद शमीले २-२ विकेट लिए।