आगामी जेठ १० गतेदेखि हुने प्रधानमन्त्री कप पुरूष एकदिवसीय क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकमा अष्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालि.ले सम्झौता गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रतियोगिताका यसअघि जेठ १ गतेबाट शुरु हुने भनिए पनि प्राविधिक कारणले १० दिन पछि सरेको हो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुर र तल्लो मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहनेछ।
सार्वजनिक खेल तालिका अनुसार समूह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् भने समूह बि मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश २ र प्रदेश १ छन्।
सार्वजनिक खेल तालिका अनुसार मुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेलअघि उदघाटन समारोह आयोजना गरिनेछ।
सोही समयमा प्रदेश २ र त्रिभुवन आर्मी क्लबकाबीच त्रिवि क्रिकेट मैदानमा पनि खेल हुने छ ।
जेठ २० गतेसम्म समूहका खेलहरु हुनेछन् भने २२ र २३ गते सेमिफाइनल तथा २४ गते फाइनल खेल हुनेछन्।
सेमिफाइनल र फाइनल खेलहरु त्रिवि मैदानमा हुनेछन्।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। उपाधि विजेता टोलीले २० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख हात पार्नेछ।
यसैगरी उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले समान ५०–५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताका दौरान खेलाडी हानेको छक्कालाई मैदानबाहिर एक हातले क्याच समात्ने दर्शकले ५० हजार पाउने आयोजकले जनाएको छ।
१ करोड ७५ लाख बजेट रहेको प्रतियोगिताको ८० लाख रुपैयाँ राखेप र त्यसबाहेकको रकम नेपालयले व्यवस्था गर्ने भएको छ ।
यसैबीच प्रतियोगिता व्यवस्थापक नेपालय इन्टरनेशनल र एक्सपर्टकाबीच मुख्य प्रायोजन सम्झौता भएको छ।
प्रायोजन रकमबारे भने खुलाइएको छैन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का एक्सपर्टका सदभावना राजदूत पनि हुन्।
‘हामी नेपाली क्रिकेटको विकासमा सदैव सहयोगी भूमिकामा देखिन तयार छौं, यसअघि पनि हामीले स्कुल र कलेजस्तरीय प्रतियोगितामा सहयोग गर्दै आएका छौ। त्यति मात्र होइन अस्ट्र्लियामा कप्तान पारस खड्का र दिपेन्द्र सिंह ऐरीको उपस्थितिमा विविध कार्यक्रम पनि आयोजना गरिसकेका छौ’, एक्सपर्टका निर्देशक बद्री अर्यालले भने।
अर्यालले प्रधानमन्त्री कपमा एक्सपर्ट जोडिन पाउनु अर्को महत्वपूर्ण खुट्किलो भएको सुनाए।
एक्सपर्टका काठमाडौं निर्देशक खेम संग्रौला र नेपालयका अध्यक्ष सुवास प्रधानले सम्झौता आदान प्रदान गरेका थिए।
सम्झौतासँगै प्रतियोगिताको नाम एक्सपर्ट प्रधानमन्त्री कप हुने भएको हो।
सम्झौता कार्यक्रममा मन्तव्य राख्दै एक्सपर्टका काठमाडौं निर्देशक संग्रौलाले आफूहरुले विगत पाँच वर्षदेखि स्कुल, कलेज लेभलको क्रिकेट हुँदै सिनियरस्तरको क्रिकेटमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउँने बताए।
यस्तै एक्सपर्टका कन्ट्रि म्यानेजर शरद पाठकले क्रिकेटबाट सहयोग माग्न आउँदा कहिल्यै नाई नभनेको उल्लेख गर्दै आफूहरुको क्रिकेटसँगको निकटता आगामी दिनमा अझै लामो सहकार्यमा अघि बढ्ने बताए।