अस्ट्रेलियाका पूर्व राष्ट्रिय स्टार बलर ब्रेट लीले भारतका बलर जसप्रीत बुमराहलाई विश्वका उत्कृष्ट ३ बलर मध्येको एक बलर भएको बताएका छन्।
३० मे बाट सुरू हुन लागेको विश्वकप क्रिकेटमा खेल्ने बलरहरूको चर्चा गर्ने क्रममा उनले जसप्रीतको नाम लिएका हुन्।
‘क्या कमालको बलर छन्’, ब्रेट लीले भने, ‘बुमराहको रेकर्ड शानदार छ, उनी गज्जबको र्याकर हान्छन्। उसको गति पनि राम्रो छ।’
बुमराहले ४९ एक दिवसीय खेलमा हालसम्म ८५ विकेट लिइसकेका छन्।
ब्रेट लीले बुमराहपछि उत्कृष्ट बलरहरूको सूचिमा आफ्नै देश अस्ट्रेलियाका दुई बलरहरूलाई आफ्नो रोजाइमा सामेल गरेका छन्। उनले यस सूचिमा मिशेल स्टार्क तथा प्याट कमिङ्ग्सलाई राखेका छन्।
उनले विश्वकपमा यी दुबै खेलाडीबाट राम्रो नतिजाको आशा राखेको बताएका छन्।
स्टार्कले सन् २०१५ को विश्वकपमा १० म्याचबाट २२ विकेट लिएर ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित भएका थिए भने प्याटले यस वर्ष ६ म्याचबाट औषतमा १४.२९ रन खर्चेर १७ विकेट लिएका छन्।
आईसिसीको पछिल्लो सूचिमा प्याट उत्कृष्ट बलरको सूचिमा छैटौं स्थानमा रहेका छन् भने स्टार्क २२ औं नम्बरमा रहेका छन्। जसप्रीत एक नम्बरमा रहेका छन्। उनीपछि सो सूचिमा न्यूजल्याण्डका ट्रेन्ट बोल्ट र दक्षिण अफ्रिकाका इमरान ताहिर क्रमशः दोश्रो र तेश्रो स्थानमा रहेका छन्।