भारत र पाकिस्तानको क्रिकेटले दुबै देशका प्रशंसकलाई उत्तेजित बनाउँछ। दुबै देशका प्रशंसकको एउटै कामना हुन्छ-आफ्नो टोलीले जितोस्।
त्यसको आशाविपरितको नतिजा आउनुको अर्थ हो- टोलीको चर्को आलोचना।
यसक्रममा खेलाडी, कोच, व्यवस्थापन, बोर्ड कोही बाँकी रहँदैनन्। आलोचनाको श्रृखंला सामाजिक संजाल र संचारमाध्यममा मात्र सिमित हुँदैन, उस्तै परे सडकमा समेत पोखिन्छ।
खेलमा जित्ने टोली त आफ्नै तालमा रमाउन थालिहाल्छ, हार्ने टोलीका सदस्य एवम प्रशसंक भने हताश देखिने गर्छन्, कतिपय अवस्थामा। यसपटकको विश्वकप म्याचमा पनि भयो त्यस्तै।
जारी विश्वकप क्रिकेटमा भारत र पाकिस्तानको खेलको नतिजा भारतको पक्षमा गयो, पाकिस्तान पराजित भयो। यस पटक प्रशंसक त हतास भए नै टोलीका प्रशिक्षकसमेत हतास देखिएको खुलासा भएको छ।
पाकिस्तानका कोड मिकी आर्थरले भारतको हारबाट आफू आत्महत्या गर्ने मनस्थितिमा समेत पुगेको बताएका छन्।
१६ जुनमा भएको खेलमा पाकिस्तान भारतसँग ८९ रनले पराजित भएको थियो। हारपछि मिडिया, प्रशंसक तथा पूर्व क्रिकेट खेलाडीहरूले टोलीको चर्को आलोचना गरे।
'म पछिल्लो आइतबार आत्महत्या गर्न चाहन्थे', उनले भने, 'तर यो त मात्र एउटा म्याच न थियो। यो यति चाँडो भयो कि एउटा म्याच जितेको केहि समयमा नै अर्को म्याच हारिसक्नुहुन्छ। यो विश्वकप हो। मिडियाको आलोचना, मान्छेका अपेक्षा अनि तपाईंको हैसियतप्रति उठाइने प्रश्न। हामीले सबै झेल्यौं।'
पछिल्लो खेलमा दक्षिण अफ्रिकालाई हराएर पाकिस्तानले आफूलाई समिपाइनलको दौडमा कायमै राखेको छ। आर्थरले बाँकी खेल जित्नका लागि टोलीले आफ्नो सर्वोत्कृष्ट प्रदर्शन दिने बताए।
'हामी हाम्रा खेलाडीलाई बारबार यहि भन्छौ कि यो बस यो एउटा म्याच मात्र हो। हामीले अगाडि राम्रो खेल्नुपर्छ',उनले भने।