जारी विश्वकप क्रिकेटमा न्युजिल्याण्डसँगको हारले भारतका समर्थकहरूलाई ठूलो आहत दियो।
यसमा कतिले दुःख ब्यक्त गरे त कतिले टोलीका खेलाडीको प्रदर्शनप्रति आक्रोश पोखे।
सेमिफाइनल हार्नुअघिसम्म यस्तो लाग्थ्यो इङ्ल्याण्डमा भारतले केहि गर्नेछ किनकी यतिबेलासम्म उसले शानदार खेल प्रदर्शन गरेको थियो। उसको बलिङ, ब्याटिङ दुबै कमालको रहँदै आएको थियो।
टोलीको उत्कृष्ट प्रदर्शनले गर्दा भारतीय समर्थकहरूले भारतले विश्वकप उपाधि जितेको कल्पना गर्न थालिसकेका थिए। यस्तोमा भारतले हार बेहोर्यो । त्यसपछि यसको सबैभन्दा ठूलो पीडा समर्थकहरूलाई पर्ने नै भयो।
यस आहतको समर्थकरूलाई आआफ्नै पीडा भएपनि दुई भारतीय समर्थकले भने ज्यान नै गुमाएको खबर सार्वजनिक भएको छ।
उनीहरूको निधन भारतको यस हारको झट्का सहन नसकेर भएको बताइएको छ। यसरी जीवन गुमाउनेमा भारतको बिहार राज्यका ४९ वर्षिय अशोक पासवान र पश्चिम बंगाल राज्यका ३३ वर्षिय श्रीकान्ता मैटी रहेको जि न्यूजले जनाएको छ।
पासवानलाई भारतले हारेलगत्तै हृदयघात भएको थियो। त्यसपछि अस्पताल लगिएका उनलाई चिकित्सकहरूले मृत घोषित गरेका थिए।
हृदयघात हुनुअघिसम्म भारतले रन बनाइरहेको खुशीमा उनी घरबाहिर पटका पड्काएर खुशीयाली मनाइरहेका थिए। यस्तोमा भारत पराजित भएको खबर सुनेसँगै उनलाई हृदयघात भयो।
त्यस्तै बंगालका मैटीको ज्यान पनि खेल चलिरहँदाको अवस्थामा हृदयघातकै कारण गयो। सो खेलमा महेन्द्र सिंह धोनी आउट भएलगत्तै उनी आफ्नो पसलमा ढलेका थिए। उनी ढलेपछि उनी छेउछाउका छिमेकी पसलेले तुरून्तै अस्पताल लगेपनि अस्पताल पुग्दा उनको निधन भइसकेको थियो।
हृदयघात हुँदा उनी आफ्नो मोबाइलमा म्याच हेरिरहेका थिए।