आइसिसी टी-२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा आयोजक सिंगापुर र कुवेतबीचको खेल वर्षाका कारण रद्द भएको छ।
मंगलबार सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा तय खेल वर्षाका कारण रद्द भएपछि दुवै टिमलाई १–१ अंक प्रदान गरिएको छ।
अंक तालिकामा २ खेलबाट ३ अंक जोडेको सिंगापुर शीर्ष स्थानमा छ। दोस्रो स्थानको मलेसियाको १ खेलबाट २ अंक छ।
तेस्रो स्थानको कतारले २ खेलबाट २ अंक जोडेको छ। पहिलो खेलमा सिंगापुरसँग पराजित कतारले मंगलबार नेपाललाई ४ विकेटले पराजित गरेको थियो।
चौथो स्थानको कुवेतको १ अंक छ। कुवेत पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो।
पहिलो खेलमा पराजित भएपछि नेपाल अंकविहीन रहदै अंक तालिकाको पुछारमा छ।
छनोटको शीर्ष टिम विश्व छनोटमा पुग्ने भएकाले नेपाललाई अघिल्लो चरणमा पुग्न बाँकी तीन खेलमै जित हात पार्नु पर्ने अवस्था छ।
नेपालले बुधबार मलेसियासँग खेल्नेछ। शनिबार कुवेतसँग खेल्ने नेपालले आइतबार अन्तिम खेलमा आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ।