भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को नयाँ अध्यक्षमा सौरभ गांगुलीले उम्मेदवारी दिने भएका छन्।
बिसिसिआईको साधारणसभाअघि भारतीय क्रिकेट टिमका पूर्व कप्तान गांगुलीको नाम अध्यक्षमा प्रस्ताव गरिएको हो।
उनको विपक्षमा अन्य कसैको नाम नआएकाले उनी अध्यक्षमा निर्वाचित हुने पक्का जस्तै छ।
उनलाई क्रिकेट एसोसिएसन अफ बेंगालले अध्यक्षमा प्रस्ताव गरेको थियो।
यता भारतका पूर्व ब्याट्सम्यान ब्रिजेश पटेल इन्डियन प्रिमियर लिग (आइपिएल) को नयाँ अध्यक्ष बन्ने भएका छन्।
गुजरात क्रिकेट एसोसिएसनका जय साह सचिव उम्मेदवार हुने भएका छन्। उनी भारतका गृहमन्त्री अमित साहका छोरा हुन्।
हिमाञ्चल प्रदेशबाट अरुन धुरमाल कोषाध्यक्ष बन्दैछन्। उनी बिसिसिआईका पूर्व अध्यक्ष अनुराग ठाकुरका भाइ हुन्।
बिसिसिआईको अध्यक्ष बन्न लागेका गांगुलीले भारतका लागि ४ सय भन्दा बढी खेल खेलेका छन्। यस्तै पछिल्लो दुई कार्यकाल उनी बेंगाल क्रिकेटका अध्यक्ष थिए।
गांगुलीले सोमबार आफ्नो उम्मेदवारी दर्ता गर्ने बताइएको छ। निर्वाचन भने अक्टोबर २३ मा हुनेछ।