नेपालको पहिलो महिला फ्रेन्चाइज टी-२० क्रिकेट लिग वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) को विजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका अनुसार प्रतियोगिताको उपविजेतालाई ३ लाख प्रदान गरिनेछ।
यसैगरी व्यक्तिगतर्फ प्लेयर अफ दि म्याचले टिभिएस स्कुटरसहित ५० हजार प्राप्त गर्नेछ।
उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही २५ हजार रुपैयाँ दिइनेछ। प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार पाउनेछन्।
प्रतियोगिता आगामी बुधबारदेखि कीर्तिपुरस्थित टियू मैदान सुरु हुनेछ। पहिलो खेलमा क्याट क्विन्स काठमाडौं र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
प्रतयोगिताका लागि मैदानको तयारी सकिएको छ भने सबै टिमले प्रशिक्षण अन्तिम चरणमा पुर्याएका छन्। आयोजकले मंगलबार ट्रफी सार्वजनिक गर्दैछ।
प्रतियोगिताका लागि पाँच टिमले ड्राफ्टमार्फत खेलाडी भित्र्याइसकेका छन्।
ड्राफ्टमार्फत प्रत्येक टिमले ११-११ खेलाडी आफ्नो टिममा भित्र्याएका थिए भने १–१ खेलाडी मार्कीको रुपमा आबद्ध भएका थिए।
यस्तै २–२ खेलाडी वाइल्ड कार्ड इन्ट्रीबाट भित्र्याएसँगै प्रत्येक टिममा १४–१४ खेलाडी छन्।
प्रतियोगितामा पाँच शहरका पाँच टिमले प्रतिस्पर्धा गर्दैछन्।
पाँच टिम र मार्की खेलाडी
१. चितवन राइनोज – मिंग्मा डण्डु शेर्पा (स्वामित्व), इन्दु बर्मा (मार्की खेलाडी)
२. क्यापिटल्स रोयल्स काठमाडौं – दीपा अग्रवाल (स्वामित्व), रुबिना क्षेत्री (मार्की खेलाडी)
३. पोखरा पल्टन – बिनायक पोखरेल (स्वामित्व), सीता रानामगर (मार्की खेलाडी)
४. ललितपुर फाल्कोन्स – श्रीजना जोशी (स्वामित्व), नेरी थापा (मार्की खेलाडी)
५. विराटनगर टाइटन्स – पारस लुनिया (स्वामित्व), सरिता मगर (मार्की खेलाडी)