अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको निलम्बन सर्तसहित फुकुवा गरेको छ।
आइसिसीको सोमबार सकिएको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
आइसिसीले २०७३ वैशाखमा सरकारी हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको थियो। त्यसपछि नेपाली क्रिकेटको व्यवस्थापनको जिम्मा लिँदै आइसिसीले सबै पक्षसँग छलफल गरेर नयाँ निर्वाचनका लागि विभिन्न प्रक्रिया अपनाएको थियो।
साढे ३ वर्ष लामो प्रक्रिया पार गर्दै २ साताअघि क्यानको निर्वाचन भएको थियो।
निर्वाचनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो।
आइसिसीका अध्यक्ष शशांक मनोहरले नेपालमा प्रगति भएकाले एसोसिएट सदस्यको मापदण्डको पूर्णरूपमा पालना गर्न संक्रमणकालीन योजना बनाइने बताएका छन्।
योजनामा नियन्त्रित अनुदान रकम पनि पर्नेछ।