अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को निलम्बनबाट फुकुवा भएपछि नेपाल क्रिकेट संघ (क्यान) को पहिलो औपचारिक बैठक बसेको छ।
गत साता निलम्बन फुकुवा भएपछि क्यानको आइतबार बैठक बसेको हो। बैठकमा पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट दिएको राजीनामाको विषयमा छलफल भएको छ।
तर उनको राजीनामाको विषयमा क्यानलाई औपचारिक पत्र प्राप्त नभएकाले थप बुझ्ने निर्णय भएको महासचिव अशोकनाथ प्याकुरेलले सेतोपाटीलाई जानकारी दिए।
'पारसको राजीनामाको विषयमा विभिन्न संचार माध्यममा आएको समाचारप्रति क्यानको ध्यानाकर्षण भएको छ,' प्याकुरेलले भने, 'तर क्यानलाई राजीनामाको विषयमा औपचारिक जानकारी प्राप्त भएको छैन। त्यसैले यस विषयमा थप बुझ्ने निर्णय भएको छ। बुझेपछि के गर्ने विषयमा निर्णय हुन्छ।'
क्यानको बैठकले अन्य तीन वटा निर्णय गरेको छ। पहिलो निर्णयमा क्यानको निलम्बन फुकुवा भएकाले सबै पक्षलाई धन्यवाद दिने छ।
यस्तै चार वटा समिति गठन गर्ने पनि निर्णय गरेको छ। प्राविधिक समितिमा संजय सिंहलाई जिम्मेवारी दिइएको छ। यसैगरी प्रतियोगिता समितिको संयोजकमा प्रशान्त मल्ल, मिडियाको संयोजकमा अशोकनाथ प्याकुरेल र आर्थिक समितिको संयोजकमा कोषाध्यक्ष रोशन सिंहलाई जिम्मेवारी दिइएको छ।
यसैगरी जिल्ला, प्रदेश र केन्द्रीय समितिले भावी कार्ययोजना बनाउनु पर्ने अर्को निर्णय भएको छ।
आइसिसीले साढे ३ वर्षपछि गत साता क्यानलाई सर्तसहित निलम्बन फुकुवा गरेको थियो। आइसिसीका अध्यक्ष शशांक मनोहरले नेपालमा प्रगति भएकाले एसोसिएट सदस्यको मापदण्डको पूर्णरूपमा पालना गर्न संक्रमणकालीन योजना बनाइने बताएका थिए।
सो योजना कस्तो हुने विषयमा छलफल गर्न आइसिसीका प्रतिनिधि तिहारपछि नेपाल आउने प्याकुरेलको भनाइ छ।