नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने तय 'द हन्ड्रेड' (१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता) खेल्ने भएका छन्।
सन्दीपलाई आइतबार राति भएको ड्राफ्टमा ओभल इन्भिसिबल्सले आफ्नो टिममा आबद्ध गरेको हो।
सन्दीपले राखेको १ लाख पाउन्ड (१ करोड ४७ लाख २५ हजार रुपैयाँ) मा ओभलले दोस्रो चरणमा टिममा आबद्ध गरेको हो।
विदेशी फ्रेन्चाइज क्रिकेट लिगमा सन्दीप आबद्ध भएको यो अहिलेसम्मकै महँगो मूल्य हो।
ड्राफ्टमा तलबको आधारमा खेलाडीलाई ७ क्याटागोरीमा वर्गीकरण गरिएको छ। खेलाडीले आफूले नै तलब निर्धारण गरेका थिए। खेलाडीका लागि १ लाख २५ हजार पाउन्ड, १ लाख पाउन्ड, ७५ हजार पाउन्ड, ६० हजार पाउन्ड, ५० हजार पाउन्ड, ४० हजार पाउन्ड र ३० हजार पाउन्ड मूल्य निर्धारण गरिएको छ। एउटा क्याटागोरीबाट १ टिमले २ जना खेलाडी राख्नु पर्ने नियम बनाइएको छ।
सन्दीपको टिममा अहिलेसम्म सुनिल नारिन र जासन रोए १ लाख २५ हजारमा आबद्ध भएका छन्। यस्तै साम बिलिङ्गस १ लाख, रोली रस्सो र टम कुरान ७५ हजार मा आबद्ध भएका छन्।
'द हन्ड्रेड' क्रिकेट प्रतियोगिता इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले आयोजना गर्न लागेको हो। प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगस्टसम्म आयोजना गर्ने प्रस्ताव गरिएको छ। प्रतियोगिता महिला र पुरुष दुवैको हुनेछ।
'द हन्ड्रेड' मा बर्मिङघम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओरिजिन्स, नर्दन सुपरचार्जर्स, ओभल इन्भिसिबल्स, साउदन ब्रेभ, ट्रेन्ट रकेन्स र वेल्स फायर गरी ८ टिमको सहभागिता रहनेछ।
टी–२० क्रिकेटको लोकप्रियतासँगै इसिबीले नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता गर्न लागेको हो। सन् २०१८ मा इसिबीले १०० बलको क्रिकेट प्रतियोगिता गर्ने घोषणा गरेको थियो। पहिलो १५ ओभर ६–६ बलको हुने र अन्तिम ओभर १० ओभरको हुने भनिएको थियो। तर यो प्रस्ताव नियम परिवर्तन गरिएको छ।
अब हुने 'द हन्ड्रेड' मा दुवै टिमले १००–१०० बल खेल्नेछन्। १०–१० बलमा इन्ड चेन्ज गरिनेछ (एउटा इन्डबाट १० बल गरिनेछ)। एक बलरले ५ वा १० बल निरन्तर गर्न पाउनेछ। एक बलरले एक खेलमा बढीमा २० बल गर्न पाउनेछ। खेलमा पहिलो २५ बलको पावरप्ले हुनेछ। पावरप्लेमा ३० यार्डको सर्कलबाहिर २ फिल्डर मात्र राख्न पाइनेछ।