नेपाली राष्ट्रिय क्रिकेट टिमका ७ खेलाडी सिजन २०२० को पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा समावेश भएका छन्।
ड्राफ्टमा पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, ब्याट्सम्यानहरु आरिफ शेख, रोहितकुमार पौडेल तथा शरद भेषवाकर र बलर सोमपाल कामी छन्।
सात जना नै सिल्भर क्याटागोरी (विदेशी) मा समावेश भएका छन्। यो क्याटागोरीको मूल्य १५ हजारदेखि ३५ हजार अमेरिकी डलर रहेको छ।
क्यानले सिफारिस गरेका पाँच खेलाडी मध्येबाट आरिफ शेख र विनोद भण्डारी ड्राफ्टमा समावेश भएका छन्।
बलर करण केसी, अलराउन्डर पवन सर्राफ र स्पिनर ललितनारायण राजवंशी समावेश गरिएका छैनन्। यद्यपी ड्राफ्टको इमर्जिङ क्याटागोरीको ड्राफ्टको नाम सार्वजनिक हुन बाँकी छ।
यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने विदेशी खेलाडीको 'प्लाटिनम' श्रेणीमा परेका थिए।
यो क्याटागोरीको मूल्य १ लाख ४७ हजार डलर देखि २ लाख १८ हजार डलर छ।
ड्राफ्टमार्फत पिएसएलका ६ टिमले खेलाडी आ–आफ्नो टिममा आबद्ध गर्नेछन्।
पिएसएलमा इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, लाहोर क्वालन्डर्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसबीच प्रतिस्पर्धा हुनेछ।
ड्राफ्टमा टिमहरुले ३ जना प्लाटिनम, ३ जना डाइमन्ड, ३ जना गोल्ड, ५ जना सिल्भर र २ जना इमर्जिङ क्याटागोरीमा रहेका खेलाडी आबद्ध गर्नु पर्नेछ।
एक टिमले कम्तिमा १६ खेलाडी राख्नु पर्नेछ। जसमा ११ जना पाकिस्तानी र ५ जना विदेशी खेलाडी टिममा आबद्ध गर्न पाइनेछ। यस्तै थप २ जना खेलाडी आबद्ध गर्नु परेमा १ जना पाकिस्तानी र १ जना विदेशी खेलाडी राख्न पाइने नियम छ।
आगामी फेब्रुअरीमा पाकिस्तानमा हुने तय पिएसएलको खेलाडी छनोटका लागि आगामी डिसेम्बर ६ र ७ मा 'ड्राफ्ट' हुनेछ।