अल्जेरिया अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ।
अल्जेरियाले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो।
त्यसअघि निर्धारित र थप गरिएको समयको खेल १-१ को बराबरी सकिएको थियो। अल्जेरियाका फेघोलीले २० मिनेटमा गोल गरेर सुरुवाती अग्रत दिलाएका थिए। तर ६२ मिनेटमा आइभरी कोस्टका कोडजियाले बराबरी गोल फर्काए।
अब सेमिफाइनलमा अल्जेरियाले नाइजेरियासँग अन्तिम चारमा भिड्नेछ।
यता मदागसरलाई ३-० गोलले हराउँदै ट्युनिसिया पनि सेमिफाइनलमा पुगेको छ। ट्युनिसियाका लागि सासीले ५२, एमसाक्नीले ६० र स्लिटीले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे।
ट्युनिसियाले फाइनल प्रवेशका लागि सेनेगलसँग भिड्नेछ।
दुवै सेमिफाइनल आगामी आइतबार हुनेछ।