“श्रीमानले ज्यान गुमाउँदा पनि मलाई त्यति दुःख लागेको थिएन, आँशु त झरेको थियो, तर देशलाई नयाँ दिशामा ल्याउन उहाँले रगत बगाएको सोचेर मनलाई दरिलो बनाएकी थिएँ तर अहिले आएर भक्कानो छोडेर रोइरहुँ जस्तो लाग्छ ।”
यस्तो कारुणिक अभिव्यक्ति दिने सप्तरीको फत्तेपुर गाविसकी निर्मला भुजेललाई श्रीमानले दिएको आहुतिले देशमा साँच्चिकै दुःखी, गरिब वर्गको दिन आउने विश्वास थियो । तर त्यो विश्वास अधुरो रह्यो ।
मुलुकमा परिवर्तन ल्याउने उद्देश्यले तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा भाग लिँदा २०६० साल भदौ १० गते उनका श्रीमान् राजकुमार भुजेल मारिएका थिए । हत्या भएको बखत तीन सन्तानलाई पाल्नुपर्ने बाध्यता भए पनि जेनतेन गरी पालेको बताउँदै निर्मला भन्छिन्, “आखिर केका लागि चुप भएँ, देशमा परिवर्तन हुन्छ, त्यसकै लागि न हो ।”
राजकुमारसहित माओवादीले थालेको १० वर्षे जनयुद्धका क्रममा १५ हजार नेपालीले ज्यानको आहुति दिए । यसपछि २०६२/०६३ मा भएको जनआन्दोलन, २०६४/०६५ मा भएको मधेस आन्दोलनमा धेरै नेपालीले रगतको खोलो बगाए । कोही परिवारलाई हेर्ने एक्ला थिए भने कोही अत्यन्तै कम उमेरमा संसार त्यागे ।
यति धेरै नेपालीले ज्यान गुमाए पनि तीनका परिवारहरूको एउटै अपेक्षा थियो, नेताहरूले दिइरहेको नारा सार्थक हुनेछ र आफ्ना मान्छेले दिएको बलिदानको कदर हुनेछ ।
जनआन्दोलन र मधेस आन्दोलनपछि मुलुकमा संविधानसभाको निर्वाचन भएपछि जनताले नयाँ संविधान पाउने ठूलो आशा गरेका थिए ।
“नेताहरूले दुई वर्षभित्र नयाँ संविधान दिने बताए पनि चार वर्षसम्म बनाउन सकेनन्” अवरुद्ध गलामा निर्मलाले भन्नुभयो, “के नेताहरूकै स्थार्थ पूर्तिका लागि मेरो श्रीमान्को ज्यानको आहुति त भएको होइन् ?”
निर्मला जस्तै दुखित र नेताहरूप्रति आक्रोशित छन् दिघवा गाविसका ६५ वर्षीय जामुन दास पनि । मधेस आन्दोलनका क्रममा २०६४ फागुन १३ गते प्रहरीको गोली लागी जामुनका छोरा गुलटेन दासको ज्यान गएको थियो ।
श्रीमतीसहित ६ सन्तान र आमाबुवाका एक्ला पालनकर्ता गुलटेन मारिएको केही दिनसम्म शोकमा डुबे पनि पछि देशका लागि ज्यान गुमाएको सम्झेर आँशु झार्न बन्द गर्नुभएका जामुन भन्नुहुन्छ, “तर छोराले बगाएको रगत बेकार भएको अहिले अनुभूति भइरहेको छ ।”
जुन उद्देश्यका साथ आफ्ना छोरा र छोराजस्तै अरू हजारौँले बलिदानी दिएका थिए आखिर त्यो पूरा नभएको भन्दै जामुन चित्त दुखाउछिन् ।
तत्कालीन नेकपा माओवादीको सशस्त्र जनयुद्धका क्रममा छोरा र जनआन्दोलनमा श्रीमान्समेत गुमाएकी इनरवती देवी (सहिद दशन यादवकी श्रीमती) पनि गणतन्त्र संस्थागत हुन नसकेकामा खिन्न छिन् ।
उनी भन्छिन्, “जनयुद्धमा मेरो छोरा बित्यो, त्यसको लगत्तै जनआन्दोलनले मेरो श्रीमान् पनि लग्यो, यो पीडा थाम्नै नसक्ने भएकी थिएँ, पछि उहाँहरूको बलिदानीले अवश्य नै मुलुकमा धेरै राम्रो हुन्छ भन्ने लागेको थियो तर अहिले श्रीमान् र छोराले दिएको बलिदानी खेर गएको जस्तो लागिरहेको छ ।”
यत्रो बलिदानी हुँदा पनि मुलुकमा कुनै आशातित परिवर्तन नहुँदा सहिदका परिवारमात्र होइन, घाइते र बेपत्ताका परिवारहरू पनि असन्तुष्ट छन् ।
मुलुकमा परिवर्तन ल्याउन जनयुद्ध पनि लडे, जनआन्दोलनमा पनि भाग लिए र मधेस आन्दोलनमा पनि सहभागी भएर कुटाई खाए, घाइते पनि भए तर जनताले अझै परिवर्तनको अनुभूति गर्न नसकेकामा युवा नेता राधेश्याम पण्डित हरेस खाएको अनुभूति गर्छन् ।
पण्डित भन्छन् , “ठूला दलका नेताहरूले आफ्ना बाचा र प्रतिबद्धता बिर्सेर जनतालाई भन्दा कुर्सीलाई बढी प्राथमिकता दिएकाले न त संविधान बन्न सक्यो, न त देशमा आशा गरेको परिवर्तन आउन सकेको छ ।”
गणतन्त्र घोषणा भए पनि गणतन्त्र आएको अझै जनताले महसुस गर्न नसकेको एकीकृत नेकपा (माओवादी) सप्तरीका संयोजक उमेश यादव स्वीकार गर्छन् ।
उनी भन्छन्, “देशमा अझै कायम रहेका पुराना शक्तिहरूको कारण जनताले अनुभूति गर्ने किसिमले गणतन्त्रको कार्यान्वयन हुन नसकेको हो ।”
आफ्नो पार्टी सङ्घीयतासहितको संविधान निर्माण गर्न खोजे पनि पुराना शक्तिका कारण सोचेजस्तो परिवर्तन हुन नसकेकामा आफ्नो पार्टी पनि दुखित रहेको उनको कथन छ ।
ठूला दलका नेताहरू इमान्दार नभएकै कारण जनताको भावनामाथि तुषारापात भएको छ, मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह भन्छन्, “जनयुद्ध, जनआन्दोलन वा मधेस आन्दोलन होस् यी सबैको उद्देश्य सङ्घीयता र नयाँ संविधान नै थियो, तर नत मुलुकमा सङ्घीयता आउन सक्यो न त संविधान नै बन्न सक्यो ।”
सङ्घीयता नभएसम्म मुलुकमा गणतन्त्र संस्थागत हुन नसक्ने बताउँदै उनी अगाडि थप्छन्,, “जनतालाई परिवर्तनको अनुभूति दिलाउन सङ्घीयता आउनुपर्छ अनिमात्र गणतन्त्र संस्थागत हुनेछ ।
नेताहरूको आफ्नो स्वार्थसिद्धिकै कारण गणतन्त्र संस्थागत हुन र संविधान बन्न नसकेको बताउछन् । कानुन व्यवसायी बालकिशोर यादव पनि । “जहिले पनि सत्तालाई केन्द्रबिन्दु र जनतालाई भर्याङ बनाउने प्रवृत्ति नेताहरूमा देखियो”, उनी भन्छन्, “यो प्रवृत्तिमा सुधार नगरिएसम्म मुलुकले काँचुली फेर्न सक्दैन ।”
“सप्तरी जिल्ला राजनीति र सहादतका लागि मुलुककै उर्वरभूमिका रूपमा परिचित छ । जुनसुकै आन्दोलनमा यहाँबाट रगत बगाउनेको कमी रहँदैन’’ उपप्राध्यापक सुरेन्द्र गुप्ता भन्छन्, “सप्तरीमात्र नभई मुलुकमै रगत बगाउनेहरूको सम्मान गर्न कम्तीमा गणतन्त्रलाई संस्थागत गर्दै संविधान बनाउनु जरुरी छ ।”
नेपालीहरूको भावनालाई कदर गर्न नेताहरूले स्वार्थ र हठ त्याग्नु जरुरी छ । अनिमात्र गणतन्त्र संस्थागत हुने भएकाले यसतर्फ नेताहरूको ध्यान जानु जरुरी छ । रासस