नायक राजेश हमालले देशमा कुशल राजनीतिक नेतृत्व नभएका कारण राजनीतिक स्थायित्व हुन नसकी सबै क्षेत्र धरासाही बन्न पुगेको गुनासो गरेका छन्।
उनले मुलुकको समग्र विकास नहुनुमा राजनीतिक नेतृत्व जिम्मेवार रहेको भन्दै मुलुकलाई कुशल नेतृत्वको खाँचो रहेको औँल्याएका थिए।
रिपोर्टर्स क्लब नेपाल दाङले आज तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नायक हमालले राजनीति देशको मेरुदण्ड भएको चर्चा गर्दै मेरुदण्ड नै ठीक बाटोमा नआएसम्म अन्य क्षेत्रको विकासको कल्पना गर्न नसकिने बताएका हुन्।
नेताहरूले विदेशीको उदाहरण दिएर संविधान निर्माण हुन नसकेको भन्दै उनले नेपाली माटो सुहाउँदो र नेपाली जनताका हकअधिकार सुनिश्चत हुने संविधान निर्माण गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका थिए।
नेपाली जनताले मुलुकमा गणतन्त्र ल्याउन ठूलो क्रान्ति गरेको भए पनि गणतन्त्रको अनुभूति भने गर्न नपाएको उनले बताए। उनले भने, अब जनताले शान्ति र समृद्धि चाहेका छन्, क्रान्ति होइन।
एक अर्को प्रसङ्गमा बोल्दै नायक हमालले पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रको धेरै विकास भएको भन्दै तर चुनौतीहरू पनि प्रशस्तै रहेको बताएका छन्। उनले पहिलेको तुलनामा नेपाली मौलिकता र मन छुने चलचित्र नबनेका कारण केही निरासा छाए पनि राम्रो चलचित्र बने नेपाली दर्शकले माया गर्ने बताए।रासस