धरानमा आजदेखि राष्ट्रिय चलचित्र महोत्सव–२०७० सुरू भएको छ। डिपोट उच्च माबीको खेल मैदानमा शनिबार वरिष्ठ कलाकारद्वय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठले महोत्सवको उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै अभिनेता हरिबंश आचार्यले भारतमा करोडौको लगानिमा बन्ने चलचित्रसँग सामान्य लगानीमा बनेका नेपाली चलचित्रहरुले कडा ठक्कर गरेर अस्तित्व जोगाउन सफल भएकोमा नेपाली चलचित्र उद्योगलाई बहादुरीको क्षेत्रको संज्ञा दिए।
नेपालमा पनि अहिले नयाँ धारका सक्षम कलाकार, निर्माता, निर्देशकहरु जन्मिन थालेकोले भारतीय चलचित्रसँग मात्रै होइन, अर्न्तराष्टिय चलचित्रसँग पनि प्रतिस्पर्धा गर्नसक्ने नेपाली चलचित्र बन्ने आशा व्यक्त गरे।
कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले महोत्सवमा चलचित्र क्षेत्रका निर्माता, निर्देशक, नायक, नायिकादेखि प्राविधिकहरुसँग एकैथलोमा भेट हुँदा आफ्नै घरमा छिरेको अनुभूति भएको भन्दै चलचित्र क्षेत्रको विकासमा सबैले ध्यान दिन आग्रह गरेका थिए।
यस्तै कार्यक्रममा निर्देशकद्धय दिपक श्रेष्ठ, सुरज सुब्बा नाल्वो, निर्माता छविराज ओझा, राजकुमार राई र कलाकार शारदा शाक्य तथा नायक अर्जुन कार्की र नायिका निशा अधिकारीलाई सम्मान गरिएको थियो।
महोत्सवले धरानलाई राष्टियस्तरमा पहिचान दिलाउने र धरानको सुन्दरताप्रति चलचित्रकर्मी, निर्माता, निर्देशकको ध्यान केन्द्रीत गर्ने आशा लिएको महोत्सवका कार्यकारी निर्देशक एवं स्थानीय व्यावस्थापक अनाम धरानका अध्यक्ष विनोद श्रेष्ठ तखाक्षेले बताए।
नेपाल चलचित्र बोर्डका अध्यक्ष धर्मेन्द मैरवैत्ता(पप्पु)को अध्यक्षतामा भएको महोत्सवको उद्घाटनअघि धरानको पब्लिक उच्चमाविको मैदानबाट चलचित्र उद्योगमा चर्चित अनुहारहरुलाई रिक्सामा राखेर नगर परिक्रमा गराइनुका साथै स्थानीय विभिन्न जाजजातिका संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । महोत्सवको उद्घाटन कार्यक्रममा स्थानीय कलाकार एवं विभिन्न जातीय संस्थाहरुले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
महोत्सव सोमबार सम्म चल्ने छ।