भारतमा यस वर्षको क्रिकेट खेल इन्डियन प्रेमियर लिग (आईपीएल) यसै साता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई २३ रनले पराजित गरी सम्पन्न भएको छ।
क्रिकेट खेलप्रेमीका लागि हरेक खेलाडी, उसका छक्का, चौका, रन र आउटको अर्थ हुन्छ तर भारतीय समाज र अर्थतन्त्रमा राम्रै अर्थ राख्ने आइपीएलले यसपटक गहन प्रश्न छोडेको छ जसले एसियाको तेस्रो ठूलो अर्थतन्त्र भारत भ्रष्टाचार, झेल, अपराध र अनावश्यक विवादविहीन खेल आयोजना गर्न सक्दैन कि भन्ने आशङ्का गराएको छ।
भारतमा क्रिकेटका दुबै समूहलाई बीस ओभर उपलब्ध गराउने ट्वान्टीट्वान्टी खेलको लिगतर्फको प्रतियोगिता नै आईपीएल हो। यस खेलको आरम्भ आईपीएलका प्रथम अध्यक्ष तथा आयुक्त ललित मोदी तथा मुम्बईमा केन्द्रीय कार्यालय रहेको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले गरेका हुन्।
बीसीसीआई तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइजले लगानी गरेको इन्डियन क्रिकेट लिग (आईसीएल) बीच मनमुटावपछि आइपीएल अगाडि आएको हो। ट्वान्टीट्वान्टीको शैलीमा नै सन् २००७ मा खेल सञ्चालन भएर सन् २००९ मा बन्द भएको आईसीएललाई बीसीसीआई र इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को समर्थन प्राप्त भएन।
चेन्नई सुपर किङ्स, दिल्ली डेयरडेभिल्स, किङ्स इलभन पञ्जाव, कलकत्ता नाइट राइडर्स, मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर बङ्गलौर, सनराइजर्स हैदरावाद गरी आठ समूह बाँकी रहेको यस प्रतियोगितामा हाल कोची टस्कर्स केरला, डेकन चार्जस र पुने वारियर्स इन्डिया बाहिरिएका छन्।
आईपीएलमा खेलाडी प्राप्त गर्ने नियम र विदेशी खेडालीको उपस्थिति निकै रोचक विषय बनेको छ। यसैका कारण यस खेलले अधिक चर्चा पाएको छ र दर्शकमा उत्सुकता बढेको छ। यहाँ खेलाडी वार्षिक रूपमा लिलाम बढाबढमा चढ्छन्, घरेलु खेडाडीसँग सम्झौता गरिन्छ, खेलाडी प्राप्त गर्न व्यापार गरिन्छ र प्रतिस्थापनका लागि पनि व्यापारिक सम्झौता गरिन्छ।
सामान्य नियमअनुसार प्रत्येक समूहमा न्यूनतम १६ खेलाडीका साथमा फिजियो थेरापिस्ट तथा कोच हुन्छन्। समूहमा विदेशी खेलाडीको सङ्ख्या ११ भन्दा बढी हुनुहुँदैन र खेल खेल्ने ११ खेलाडीको समूहमा अधिकतम ४ विदेशी खेलाडी हुनसक्छन्। प्रत्येक समूहमा १४ जना भारतीय खेलाडी हुनैपर्छ र त्यसमा बीसीसीआईको 'अन्डर–ट्वान्टीटु' को खेलाडीको समूहबाट न्यूनतम रूपमा छ खेलाडी लिनै पर्छ। यहाँ पहिलो खेलाडीका लागि ५० लाख अमेरिकी डलर तिरिएको देखिएको छ भने 'अन्डर–ट्वान्टीटु' खेलाडीले न्यूनतम वार्षिक पारिश्रमिक २० हजार अमेरिकी डलर पाउँछन् भने अन्यले ५० हजार अमेरिकी डलर पाउँछन्।
आईपीएल हाल विश्वको सबैभन्दा धनी क्रिकेट प्रतियोगिता बनेको छ। सन् २०१० मा आईपीएल ब्रान्डको मूल्य ४.१३ अर्ब अमेरिकी डलर बराबर भएको अनुमान बेलायती मूल्याङ्कन संस्था ब्रान्ड फिनान्सले गरेको थियो। आईपीएल पाँचौँको ७४ खेल शृङ्खलामा १६ करोड २० लाख दर्शक प्राप्त भएको बेस्ट मेडिया इन्फोले उल्लेख गरेको थियो। आईपीएल छैठौँको पहिलो १६ खेलमै १४ करोड दर्शक प्राप्त भइसकेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।
कूल २५ करोड भारतीय रूपैयाँको पुरस्कार राशियुक्त यस खेलमा विजेता समूहलाई १० करोड, उपविजेतालाई ७.५ करोड, तेस्रो र चौँथो स्थानलाई ३.७५ करोडको व्यवस्था गरिएको छ। पुरस्कार राशिको आधा भाग खेलाडीलाई दिनु पर्ने व्यवस्था गरिएको छ।
आईपीएलको माध्यमबाट बीसीसीआईले पाँच देखि १० वर्षको अवधिमा १.६ अर्ब अमेरिकी डलर कमाउने लक्ष्य राखेको छ। यसलाई केन्द्रीय कोष मार्फत ४० प्रतिशत आईपीएल, ५४ प्रतिशत व्यापारिक क्रियाकलाप र ६ प्रतिशत पुरस्कारमा खर्च गर्ने योजना बनेको थियो। आरम्भमा किङफिसर एयरलाइन्सलाई आधिकारिक निर्णायकको रूपमा १०६ करोड भारतीय रूपैयामा प्रायोजन उपलब्ध गराइएको थियो। यसमा म्याकडोनाल्डलाई सबै निर्णायकको पोसाकमा र तेस्रो निर्णायकका लागि ठूलो स्त्रि्कनमा प्रथम ब्रान्डको रूपमा लिइएको थियो।
टेलिभिजनमा खेल प्रशारणका लागि सोनी इन्टरटेनमेन्ट टेलिभिजनले दश वर्षका लागि १.६ अर्ब अमेरिकी डलर तिरेको छ। यस संस्थाले यस अधिकारलाई अन्य संस्थाहरूलाई बेचेको छ। सन् २००८ देखि २०१२ सम्मको खेलका लागि भारतको सबैभन्दा ठूलो सम्पत्ति विकास संस्था डीएलएफ समूहले २५० करोड भारतीय रूपैयाँमा टाइटल प्रायोजकको स्थान प्राप्त गरेको थियो भने सन् २०१३ पछिको अर्को पाँच वर्षको लागि पेप्सीकोले ३९६.८ करोड रूपैयाँमा यो स्थान लिएको छ।
यस खेलका लागि मोबाइल एप्लिकेसनका लागि सिङ्गापुरको डीसीआई मोबाइलले सम्झौता गरेको छ भने क्यानडाको लाइभ करेन्ट मेडियाले आईपीएलसँग पाँच करोड अमेरिकी डलरमा आईपीएलको आधिकारिक वेबसाइट सञ्चालन गर्ने जिम्मा लिएको छ। यसबीच अनलाइन दर्शकका लागि विश्वभरबाट आईपीएलप्रतिको उत्सुकता बढ्न थालेको देखिएको छ। यी तथ्याङ्कहरू विकिपेडियाबाट प्राप्त भएका हुन्।
यी सबैबीच आईपीएल सट्टेबाजहरूको कमाउने स्थान र उनीहरूका लागि खेलाडीहरूले खेल निर्धारण गरिदिने कुराले यस वर्षको खेल सबैभन्दा विवादित बनेको छ। सन् २०१० मा आईपीएलका अध्यक्ष ललित मोदीलाई व्यक्तिगत आपराधिक क्रियाकलापमा संलग्न भएको भनी पदबाट निलम्बन गरिएको थियो। सन् २०१२ मा भारतीय समाचार च्यानल इन्डिया टीभीले गोप्य अनुसन्धानबाट पाँच खेलाडी खेलस्थान निर्धारणमा संलग्न रहेको देखाएको थियो।
यस अनुसन्धानका कारण डेकन चार्जर्सका टीपी सुधिन्द्र, पुने वारियर्सका मोहनिश मिश्र, अमित यादव, किङ्स इलभन पञ्जावका शलभ श्रीवास्तव तथा अभिनव बालीलाई आईपीएलले निलम्बन गरेको थियो। मोहनिश मिश्रले आफूले एक करोड ५० लाख गैरकानुनी रकम प्राप्त गरेको स्वीकार गरेका थिए।
यस वर्ष यसरी नै खेल निर्धारण गरेको भनी राजस्थान रोयल्सका एस. श्रीसंत, अङ्कित चवन तथा अजित चन्डिलालाई दिल्ली प्रहरीले पक्राउ गरिसकेको छ। यसैगरी मुम्बई अपराध शाखाले चेन्नई सुपर किङ्गसका उच्च अधिकारी तथा बीसीसीआईका अध्यक्ष एन श्रीनिवासनका ज्वाइँ गुरुनाथ मेयप्पनलाई पक्राउ गरेको छ। अर्कोतिर भारतीय सिने उद्योगका कलाकार दारासिंहका छोरा विन्दु दारासिंहलाई सट्टेबाज तथा स्थान निर्धारण गरेको आरोपमा पक्राउ गरिएको छ। यसैगरी निकै सट्टेबाजहरूलाई पनि पक्राउ गरिएको छ। यसबीच अध्यक्ष श्रीनिवसनको राजिनामा माग्नेको अधिकारीको सङ्ख्या बढेको छ।
भारतमा सट्टेबाजीले कानुनी मान्यता प्राप्त नगरे पनि यहाँ वर्षको ६० अर्ब अमेरिकी डलर बराबर सट्टेवाजी हुने अनुमान गरिएको छ। भारतीय उद्योग वाणिज्य महासङ्घ (एफआईसीसीआई) ले वार्षिक रूपमा तीन लाख करोड भारतीय रूपैयाँ सट्टेबाजी हुने गरेको र यसका कारण सरकारले करको ठूलो रकम गुमाउने गरेको दाबी गर्दै सट्टेबाजीलाई कानुनी रूप दिन सरकारसँग आग्रह गरेको छ।
एफआईसीसीआईले सट्टेवाजीलाई कानुनी मान्यता नदिँदा यस्ता रकम गैरकानुनी रूपमा प्रवाह हुने गरेको, यसका कारण खेल निर्धारण हुने गरेको तथा यी रकम आपराधिक क्रियाकलापमा पनि उपयोग हुन थालेको धारणा राखेको छ।
क्रिकेट खेलमा बाजी र सट्टेबाजी नौलो कुरा नभए पनि सन् २०१२ को खेल र यस वर्षको खेलमा सट्टेबाजीका कारण खेल निर्धारण भएको, आपराधिक समूहले सट्टेवाजी व्यापारमा नियन्त्रण गरेको तथा यस्तो रकम आतङ्कवादमा समेत उपयोग भएको समाचार आउन थालेपछि भारत सरकार झस्केको छ।
भारतमा आपराधिक क्रियाकलापमा संलग्न भएको भनी आरोप लगाइएका डी कम्पनी तथा छोटा राजनका समूहले क्रिकेटको सट्टेवाजीको ब्यापारमा हात हालेको र संलग्न भएको समाचार भारतीय आमसञ्चारमा आउन थालेका छन्। यस विषयमा प्रहरी अनुसन्धान तथा अदालती प्रक्रिया जारी छ र अदालतले यस विषयमा अनुसन्धान गर्न आदेश दिइसकेको छ।
अन्तर्राष्ट्रिय स्तरको खेल आयोजना गर्ने भारतको क्षमतालाई हाल कसैले पनि चुनौती दिएको छैन र त्यसको प्रमाण सन् २०१० मा दिल्लीमा आयोजित कमनवेल्थ खेलले दिएको थियो। तर भारत विवाद, भ्रष्टाचार तथा आपराधिक क्रियाकलापविहीन खेल आयोजना गर्न सक्छ सक्दैन भन्ने प्रश्न त्यही खेलले उठाएको थियो र सोही खेल आयोजक समितिका अध्यक्ष सुरेश कलमाडीमा माथि भारतीय अनुसन्धान व्युरोले अदालतमा मुद्दा दायर गरेको छ।
यस वर्षको अनेकौँ विवादका कारण आईपीएल ब्रान्डको मूल्य सन् २०१० को ४.१३ अर्ब अमेरिकी डलरबाट ३.०३ अर्ब अमेरिकी डलरमा झरेको जानकारी ब्रान्ड फिनान्सले दिएको छ। सहारा समूहले यस खेलमा आफ्नो प्रायोजन अन्त्य गरेको छ। यस्तै अवस्था रहे आईपीएलको ब्रान्ड मूल्य अझै खस्कने निश्चित छ। खेलप्रेमी धेरैको प्रश्न छ के भारत निष्पक्ष, जालसाँजीविहीन, भ्रष्टाचारविहीन र विशुद्ध खेल भावनाले अन्तर्राष्ट्रिय खेल आयोजना गर्नसक्छ त?
पूर्वीय आर्यसमाजको धरोहर भारतले खुला समाजवादी अर्थतन्त्र अवलम्बन गरेको छ र प्रैत्रिक सम्पत्ति हस्तान्तरणमा कर लाग्दैन। यसैले पूर्वीय दर्शनको मूल मान्यताविपरीत कर्मभन्दा वंश परम्परालाई प्राथमिकता दिने र आफूपछिका सात पुस्ताका लागि सम्पत्ति संयोजन गर्नुपर्ने सामाजिक मान्यताका कारण शक्ति र सम्पत्तिलाई सँधै जीवन उद्देश्यको रूपमा हेर्ने गरिन्छ।
यसपटकको आईपीएल खेल भावनाले भन्दा पैसा कमाउने सट्टेबाजहरूको इसारामा सञ्चालन भएको हो कि भन्ने भान क्रिकेटप्रेमीहरूमा पर्न गएको सन्दर्भमा भारतीय क्रिकेट क्याप्टेन महेन्द्र सिंह धोनीको भनाइ बढी सार्थक देखिन्छ र उनले केही व्यक्ति मानसिक रूपमा अन्यको तुलनामा कमजोर भए पनि यसले भारतीय क्रिकेटको ख्याती नघट्ने दाबी गरेका छन्।
उनका दाबीलाई सही ठहर्याउन र आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न के भारत आफ्नो कानुन व्यवस्था सच्याउन सक्षम हुन्छ त? हेर्न बाँकी छ। (सुरेन्द्रबहादुर नेपाली) रासस