राजधानीको भृकुटीमण्डपमा जारी १७औँ पुस्तक प्रदर्शनीमा करिब रु दुई करोडको कारोबार भई आज सकिएको छ।
नेपाल राष्ट्रिय पुस्तक तथा प्रकाशन सङ्घले यही जेठ १० देखि आजसम्म प्रदर्शनी सञ्चालन गरेको थियो। आमपाठक वर्गका भिन्नभिन्न रुचिलाई समेट्ने गरी नेपाली तथा अन्तर्राष्ट्रिय प्रकाशकद्वारा प्रकाशित विभिन्न विषयका पुस्तक प्रदर्शनीमा राखिएका थिए।
मुख्यसचिव लीलामणि पौड्यालले सभ्य तथा शिक्षित समाजको निर्माणका लागि पठन संस्कृतिको महत्व रहेको चर्चा गर्दै प्रदर्शनीले लेखक, पाठक तथा प्रकाशकलाई नजिकबाट अन्तर्क्रियाको अवसर जुटाइदिएको बताए।
उनले लेखक, पाठक तथा प्रकाशककाबीचमा रहेका विभिन्न समस्यालाई समाधान गर्न पुस्तक नीतिको खाँचो रहेको आँैल्याउदै सो नीति ल्याउन सम्बन्धित पक्षसँग छलफल भइरहेको र छिट्टै आउने विश्वास व्यक्त गरे।
प्रदर्शनीमा अन्तर्राष्ट्रिय प्रकाशनका २३ तथा स्वदेशी प्रकाशनका ३९ वटा बिक्री कक्ष राखिएका थिए। विभिन्न नेता, प्रशासक तथा विभिन्न उमेर समूहका दर्शक तथा पाठक गरी करिब एक लाखले प्रदर्शनी अवलोकन गरेको सङ्घका महासचिव लिखत पाण्डेले बताए।
प्रदर्शनीमा राखिएका सम्पूर्ण पुस्तकमा न्यूनतम १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो। रासस