भ्रष्टाचार लगायतका विषयमा खोजमूलक पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गर्न १० हजार अमेरिकी डलर बराबरको कोश स्थापना गरिएको छ। बारबरा पिस फाउन्डेसनकी संस्थापक अध्यक्ष बारबरा एडम्सले उक्त रकम बराबरको पुरस्कार कोश स्थापना गरेकी हुन्।
बारबरा पिस फाउन्डेसन र त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले बिहीबार 'बारबरा एडम्स खोजी पत्रकारिता सम्मान' घोषणा गरेका हुन् । पुरस्कार घोषणा गर्दै बारबाराले भनिन्, 'खोजी पत्रकारिताबाट भ्रष्टाचार बाहिर ल्याउन यो पहल गरेकी हुँ।' उनले युवालाई भ्रष्टाचारविरुद्धको अभियानमा लाग्न आग्रह गरिन्।
यो पुरस्कार पत्रकारिता तथा आमसञ्चार विभाग मातहत रहने छ। 'बारबरा एडम्सको व्यक्तित्व र पत्रकारितासँग उहाँका लामो आवद्धता रहेका कारण नै हामीले विभाग अन्तर्गत यसलाई स्वीकारेका हौं,' विभागीय प्रमुख प्राध्यापक पी खरेलले भने । खरेलले हरेक वर्ष लोकतन्त्र दिवश वैशाख ११ गते ५१ हजार रुपियाँको पुरस्कार दिने जनकारी दिए। ५० वर्षअघि देखि नेपालमा रहँदै आएकी ९० वर्षीय अमेरिकी एडम्सले केही वर्षअघि नेपाली नागरिकता पाएकी थिइन्। उनी पहिलो पटक रिपोर्टिङ गर्न नेपाल आएकी हुन् ।