बाहिरबाट झट्ट हेर्दा जे देखिन्छ, त्यो पूर्ण सत्य नहुन सक्छ । कम्तीमा आगो लाग्दा।
ठमेलको आगलागीमा त्यस्तै भयो।
बिहीबार राति झन्डै १० बजे लागेको आगो शुक्रबार बिहान ८ बजे नियन्त्रणमा आयो भनिएको थियो । साढे ११ बजे हामी घटनास्थल पुग्दा दमकलहरू फर्किसकेका थिए । आगो निभिसकेको देखिन्थ्यो, धुवाँ पुत्ताउन भने छाडेको थिएन । स्थानीयहरू ‘पिलग्रिम्स बुक स्टोर’ अगाडिको सडकमा छपक्कै जलेका किताब सोहोर्न व्यस्त थिए । प्रहरीहरू बिनासुरक्षा आगो लागेको घरभित्र छिरेर निरीक्षण गरिरहेका थिए।
घटनास्थलबाट निस्केर छेउकै रेस्टुरेन्टमा अघिल्लो समाचार लेख्दै गर्दा ठिक साढे १२ बजे एउटा दमकल साइरन बजाउँदै सातघुम्तीतिर छिर्यो । केही बेरमा फेरि अर्को दमकल गयो । दुईवटा खानेपानी ट्यांकर पनि लस्करै घटनास्थलतिर कुदे।
के भएछ फेरि?
हामी दौडिँदै घटनास्थल पुग्यौं।
अघि घटनास्थलबाट फर्कंदा जुन ठाउँबाट धुवाँ पुत्ताइरहेको थियो, त्यहाँ त फेरि आगो दन्किरहेको रहेछ । दुइटा दमकलले दुईतिरबाट पानी बर्साइरहेका थिए । दमकलमा पानी भर्न दुइटा ट्यांकर तम्तयार राखिएको थियो । आगोले यस घरका पिलग्रिम्स किताब पसल र फेसेस लाउन्ज रेस्टुरेन्ट पूरै नष्ट भएका छन्।
बिहान अग्निनियन्त्रकहरू फर्केको केही घन्टापछि नर्थफिल्डका कर्मचारीले धुवाँको मुस्लो उडिरहेको देखेछन् । हावा बढ्दै जाँदा त्यहाँबाट आगोको लप्का छुट्न थालेछ । त्यसपछि नर्थफिल्डकै कर्मचारीले हतारहतार फोन गरेर दमकल डाकेका रहेछन्।
‘आगो पूरै निभिसक्यो भनेर दमकलहरू फर्किए, तर कहाँ पाएर निभ्नु,’ पिलग्रिम्स बुक स्टोर सँगैको नर्थफिल्ड रेस्टुरेन्टका प्रबन्धक अभिनव शाक्यले सेतोपाटीसँग भने, ‘धुवाँको मुस्लो निस्कन थाल्यो । जति हावा चल्दै गयो, धुवाँ झन्झन् बढ्दै गयो । अनि एक्कासि आगोको लप्का नै देखियो । हामीले तुरुन्तै दमकललाई फोन गर्यौं।’
लगत्तै आइपुगेका दमकललाई फेरि आगो नियन्त्रणमा लिन झन्डै चार घन्टा लाग्यो।
करिब चार बजेतिर एकजना अग्निनियन्त्रक आगो लागेको घरबाट बाहिर निस्के । उनको अनुहार कालो धुवाँले पोतिएको थियो । जीउभरि धुलैधुलो टाँसिएको थियो । उनी दमकल छेउ पुगे । धारा खोले । र, मुख धुन थाले । कपडा पखाल्न थाले।
‘यसपालि पूरै निभेको हो?’
यो प्रश्नमा अग्निनियन्त्रक बद्रीप्रसाद अधिकारीले भने, ‘अझै निभेको छैन । दुइटा कोठामा बाँकी छ, तर अब बाहिर फैलिन्न, डराउनुपर्दैन ।’
यति भनेर उनी गाडीभित्र छिरे । उनी चढेको दमकल त्यहाँबाट फक्र्यो । अर्को भने यो समाचार लेख्दासम्म घटनास्थलमै ‘स्ट्यान्डबाई’ थियो । घरको पछाडिपट्टि हल्का धुवाँ पुत्ताउन छाडेको थिएन।
नर्थफिल्डका प्रबन्धक शाक्यले धुवाँतिर हेर्दै भने, ‘फेरि निभ्यो भनेर फर्के, खै के हुने हो ?’
गएराति पनि दमकल र पानी ट्यांकरलाई आफैंले खबर गरेको उनी बताउँछन् । त्यतिबेला उनी रेस्टुरेन्टबाट थानकोट घर फर्किसकेका थिए । ‘घर पुग्नासाथ आगो लागेको खबर आएपछि तुरुन्तै दमकल र ट्यांकरलाई फोन गरेँ,’ उनले भने ।
नर्थफिल्ड रेस्टुरेन्ट शुक्रबार बन्द रह्यो । आँगनभरि पिलग्रिम्सका जलेका किताबका अवशेष असरल्ल थिए । पारि धुवाँ पुत्ताइरहेको हेर्ने मान्छे घरिघरि आउजाउ गरिरहन्थे।
यो घटनामा नर्थफिल्डकै दुईजना कर्मचारी घाइते भएका छन् । आगो लागेपछि निभाउन सकिएला कि भनेर तम्सेका किसान अधिकारी र महेश खनाललाई चोट लागेको हो । उनीहरू दुवै नर्थफिल्डका ‘कुक’ हुन् । शाक्यका अनुसार अधिकारीको खुट्टा भाँच्चिएको छ भने खनालको टाउकोमा चोट लागेको छ । दुवै अस्पतालमै छन्।
दोस्रोचोटि हामी पुग्दा घटनास्थल अलि व्यवस्थित थियो । अघिल्लो चोटि सडकमा आवतजावत रोकिएको थिएन । सडकभरि जलेका किताबको थुप्रो थियो । ती सबै हटाइएका छन् । सडकमा सुरक्षा चिह्न लगाएर त्यहाँबाट मान्छेलाई आउजाउ गर्न दिइएको छैन।
घटनास्थल व्यवस्थापनमा खटिएको थियो, इनिसियटिभ आउटडोरको प्रकोप व्यवस्थापन टोली।
टोलीनेता चन्द्र आलेका अनुसार १० जना स्वयंसेवी बिहान ११ बजेदेखि घटनास्थल व्यवस्थापन गरिरहेका छन् । पहेलो रङको ज्याकेट लगाएका ती स्वयंसेवीको उपस्थितिले रातभरि खटिएका प्रहरीलाई मद्दत पुगेको छ । अधिकांश प्रहरी थाकेर चुर देखिन्थे । सुरुमा सोह्रखुट्टै प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थल व्यवस्थापन गरेको थियो । पछि उनीहरूलाई पालो दिन अरू ठाउँबाट पनि सुरक्षाकर्मी यहाँ परिचालन गरिए।
प्रहरी र स्वयंसेवी दुवै मिलेर सडकका दुवैतर्फबाट आउजाउ रोक्नुका साथै सडक सफा गर्न मद्दत गरिरहेको आले बताउँछन्।‘यस्तो घटना भएको खबर पाउनासाथ हामी पुगिहाल्छौं, यसपालि भने बिहान मात्र खबर पायौं,’ आलेले भने।
सन् २००१ देखि प्रकोप व्यवस्थापनमा लागिरहेको आलेका अनुसार यस्तो घटना पूरै नियन्त्रण नभएसम्म दमकल फर्काउनु गलत निर्णय हो।
‘आगोको प्रकृति फरक हुन्छ, बाहिरबाट हेर्दा निभ्योजस्तो लाग्छ, एकछिन हावाहुरी चल्यो भने तुरुन्तै सल्किहाल्छ,’ उनले भने, ‘आगो पूरै ननिभेसम्म दमकलहरू स्ट्यान्डबाई बस्नुपर्छ।’
तस्बिरः दोस्रोचोटि आगो फैलिएपछि निभाउन सक्रिय दमकल र त्यसमा पानी भर्दै ट्यांकर । तस्बिरः सुदीप श्रेष्ठ/सेतोपाटी