मेरो अनुभवमा, सपना जोकोहीले देखिरहेको हुन्छ । स्वाभाविकै हो, त्यसको तह फरक हुन सक्छ । सपना सानो वा ठूलो जस्तो भए पनि त्यसमा ठेस लाग्यो भने चोट पर्ने रहेछ । त्यो चोटले ईख जन्माउँछ । मेरो ईख सुखसयलपूर्ण जीवन बिताउनमा थियो । आफू अलिक सौखिन चालमा हिँड्न, परिवारलाई सुखचैनमा राख्न चाहन्थेँ म । धेरै पढ्न पनि नसकेको र भाग्यरेखा पनि गाढा नदेखिएकोले म आफ्नो सपना पछ्याउँदै जापान पुगेको थिएँ । नपुग्नु पुगिसकेपछि खाली हात किन फर्कनु भन्ने सोच आएकोले ‘ओभरस्टे’ नै भए पनि मैले जापान छोडिहाल्न सकेको थिइनँ।
कालान्तरमा त्यही सोच जहर बनिदियो । मलाई नखाएको विष लाग्यो।
मसँग आफ्नै सपनाको भार एकातिर थियो भने अर्कातिर मेरो उमेर र बैँसको केटौलेपन छँदै थियो । रेस्टुराँमा दिनरात काम गरेरै भए पनि महीनाको औसतमा दुई लाख रूपैयाँ कमाएको हुन्थेँ । त्यस बेला पैसा तिरेर सेक्स पार्टनर खोज्नु, शारीरिक सम्पर्कमा रहनु भनेको ‘अन्यथा’ होइन भनेर मैले मेरी श्रीमती राधालाई सम्झाएको थिएँ । अझ भनूँ, राधा आफैँले पनि बुझेकी थिइन् । पैसा तिरेर यौन सम्पर्क राख्नु भनेको न कुनै पराई युवतीलाई माया दिनु थियो, न अपराध नै । श्रीमती राधाले यो समझ राखिदिनुलाई आफ्नो अहोभाग्य सम्झन्छु।
हिरासतमा बस्दा समय कटाउन लेखपढ गर्ने, टोलाइरहने वा कल्पनाशील बन्नेबाहेक अरु उपाय मसँग थिएन । जवानी र तनावले भरिएको समय भएर हो कि के हो, म राधालाई चिठी लेख्दा बढीजसो सेक्सुअल भावनाहरु लेख्ने गर्थें । तिनमा सम्भोगकलाको व्याख्या पनि हुन्थ्यो । तर राधाले त्यस्ता चिठीको प्रत्युत्तर कहिल्यै त्यस्तै किसिमले दिइनन् । उनी चिठीमा प्रेमालाप र रतिरागका भावना होइन कि, मेरो मनोबल बढाउने कुराहरु लेख्ने गर्थिन् । उनले जहिल्यै आफ्नो आध्यात्मिक सौन्दर्यको पाटोलाई उजागर गरिरहिन् । जेलभित्रै भए पनि मैले कान्तिपुर र हिमालमार्फत नेपाली समाजको वस्तुस्थिति र अनेक घटनाक्रम पढ्ने गरेको थिएँ । वैदेशिक रोजगारीका कारण कतिपय जोडीको दाम्पत्य जीवन अनपेक्षित रुपले तोडिएका, सामाजिक सञ्जाल भत्किँदै गएका थुप्रै समाचार तिनमा पाउने गरेको थिएँ । तर हामी बूढाबूढीबीचको विश्वास म कालकोठरीमा पर्दा पनि कहिल्यै कम भएन । एकअर्काको मनोबल उकास्ने सूत्रले हामीबीच कुनै किसिमको आशङ्का वा संशय हुर्कनै दिएन।
जेलको चौघेरामा थन्किनुपर्दा कसको मन खुशी हुन्छ र ! म पनि अपवाद थिइनँ । आफूले गर्दै नगरेको अपराधमा साँच्चिकै अपराधीहरुसँग बस्नुपर्दा म थप पीडित बनेको थिएँ । बाहिर हाँसे पनि म भित्रभित्रै रोइरहेको हुन्थँे । त्यो सन्तापले म जेलभित्रै मर्न सक्थेँ, जीवन अर्कै मोडतिर लाग्न सक्थ्यो । तर भयो अर्कै।
जापानीमा ‘उम्मोने–देआई’ भनिन्छ, सौभाग्यलाई, सुखद संयोगलाई । मानव जीवन उल्कामय नभएको भए, अचम्मलाग्दो नभएको भए र नाटकीयताले भरिपूर्ण नभएको भए मैले आफ्नो पक्षमा मुद्दा लड्न खामियामा जस्ता नामुद वकीललाई भेट्ने सौभाग्य पाउने थिइनँ । मैले पछि सुने अनुसार, खामियामा अविवाहित थिए । इन्टरनेटमा उनको पहँुच थिएन । मोबाइलधरि उनीसँग थिएन । उनको चाख भन्नु निर्दोषलाई न्याय दिलाउनुमा थियो । विशेष प्रकारका मुद्दाहरुमा हात हाल्न र त्यसमा सफलता पाउनमा उनले निकै नाम बनाएका थिए । अपराध अथवा ठूलो घटना (केजी जिकेन) लाई हेर्न विशेष वकील छुट्ट्याइने जापानी परम्परा बमोजिम मैले खामियामालाई भेटेँ र पुनर्जन्म पाउन सकेँ।
जुन केटीको हत्याको आरोप ममाथि लगाइएको थियो, अर्थात् यासुको वातानावे, त्यो जापानी समाजको ऐना हो । जापानी समाजमा सौहार्द छैन । मानसिक चैन छैन । जापानीहरु बिहान झिसमिसेदेखि आधारातसम्म मेसिन जस्तो काममा जोतिएका जोतियै हुन्छन् । तिनको मनमा शान्ति छैन । तिनलाई आनन्द लिने बाटो छैन । मानवीय गुण एकदमै पातलिएको छ । संवेदनशीलता उत्तिकै फितलो छ । दुनियाँमै सबैभन्दा बढी आत्महत्या जापानीहरुले गर्ने गर्छन् । जापानी समाजमा व्याप्त निराशाको ज्वलन्त उदाहरण हो यो । ‘गर गर, मर’ भने जस्तो छ जापानी समाज। वातानावे त्यही समाजको प्रतिविम्ब हो।
यासुको वातानावे जस्ता जापानी समाजका एकाध प्रतिनिधि पात्रहरुका कारण सिङ्गो जापानी समाजलाई गाली गर्ने ठाउँमा म छैन । किनभने सहयोग समितिका अधिकांश सदस्यहरु जापानी थिए । मेरा वकील, शुभेच्छुक र अभियन्ताहरु जापानी नै थिए । आज जापानीहरु समृद्धिको यो उचाइमा छन् । उनीहरु भाग्य वा भगवान्का पक्षपाती छैनन् । एकोहोरो ‘कर्म र कर्म’ उनीहरुको मन्त्र हो । यही कर्म–मन्त्रले आज उनीहरु यहाँसम्म आइपुगेका हुन् । नत्र हिरोसिमा र नागासाकीमा ध्वंस तथा भुइँचालो र सुनामी जस्ता दैवी प्रकोप झेल्दै आएका उनीहरु जहीको तही हुन्थे । यस कारण जापानी समाजप्रति मेरो सम्मान पनि यथावत् छ।
मेरो जीवनको सबैभन्दा उर्वर र सपनामयी समय कारागारमा बित्यो । नपाउनु सास्ती पाएँ । तर परदेशमा मैले अनाहकमा पाएको दुःख र सास्तीबारे मेरै देशमा अझै पनि सम्पूर्णतः बुझबुझारथ हुन सकेको छैन । गोविन्द मैनाली कुनै कथाको विजयी पात्र हो कि सहानुभूति र सान्त्वनाको भागिदार, यसमा आम मानसिकता अलमलिएको छ । ‘क्षतिपूर्तिको पैसा कति आउँछ त ? गोविन्दले कति पैसा पाउँछ ?’ भनी औला भाँच्नेहरुले पीडाको मूल्य हुँदैन भन्ने आफूलाई थाहा नभएको नै प्रस्ट्याइरहेका हुन्छन्।
मलाई कठोर जेल जीवनले दिलाएको पाठ भिन्नै छ । मैले २२ मार्च १९९७ देखि १५ जुन २०१२ सम्मको पन्ध्र वर्ष तीन महीनाको त्यो अवधिलाई महाविद्यावारिधिका लागि बिताएको कष्टपूर्ण साधनाको समयझै सम्झने गरेको छु । यो भोगाइले मलाई आफू जस्तै पीडित, परिबन्दले घेरिएका र अनाहकको अभियोगले बेरिएर विभिन्न मुलुकमा सहाराहीन जीवन बिताइरहेका थुप्रै आस्थाका बन्दीहरुको नियति सम्झन बाध्य गराएको छ।
यस बेला एउटा सन्दर्भ उल्लेख गर्न चाहन्छु, जापान जाँदा देखेका धेरै सपनाहरुमध्ये केही पूरा भए । जेल जीवनको सन्दर्भ दुर्भाग्यको क्षण भए पनि जापानी सभ्यता र संस्कृति पहिल्याउने अनि जापानको समृद्धि अनुभूति गर्ने मेरो मनोकाङ्क्षा पूरा भएको छ । तर स्कुले बेलैदेखि हिरोसिमा र नागासाकीबारे परेको छाप तथा ती स्थल हेर्न जाने मनोकाङ्क्षा भने अझै अधुरै छ । यस कारण पनि म कुनै दिन हिरोसिमा–नागासाकी हेर्नैका लागि भए पनि जापान आउनेछु । यो मेरो बाचा–बन्धनसमेत भयो।
समाजमा पचोस् अथवा नपचोस्, कसैले केही भनोस् अथवा नभनोस्— सत्य सत्य नै हुन्छ । झूट जहिल्यै अल्पायु हुन्छ । सत्य उद्घाटन नगरून्जेल कुनै पनि मान्छेको मनमा शान्ति हुँदैन । तनावको कारण भनेकै सत्यको ढाकछोप हो । तनावको स्तर सत्य ढाकछोपको घनत्वमा निर्भर हुन्छ । निर्दोष हुँदाहुँदै कारागारमा कोचिनुपरेको मैले थप तनाव नपाल्न नै अदालतमा साँचोसाँचो बयान दिएको हुँ।
परिबन्दको जालोबाट उम्किएर म समस्त दुनियाँका अगाडि निर्दोष गोविन्द बनिसकेको छु । तर यो अवधिमा मैले बेहोरेको सास्ती र अप्रमाणित सजायका लागि जापान सरकारले दिनुपर्ने क्षतिपूर्तिको लडाइँ जारी छ । यत्रो घटनाको अभियोग लगाएर लज्जास्पद ढङ्गले पराजय बेहोर्दा पनि जापान सरकारले अहिलेसम्म औपचारिक रुपमा माफी नमागेकामा र आफ्नो गल्ती स्वीकार नगरेकामा मेरो क्षोभ यथावत् छ । तथापि व्यक्तिकेन्द्रित घेरामा मात्रै सीमित नरही मैले आफू जस्तै परिबन्दमा परेका दर्जनौ नेपाली र अन्य नागरिकका लागि उन्मुक्तिको साङ्केतिक आवाजको काम गर्नुपर्ने ठानेर यो दिशामा केही गर्ने अठोट लिएको छु । जापानको फौजदारी कानूनमा उपलब्ध क्षतिपूर्ति प्रावधान अनुसार कुनै दिन अर्को न्याय पाउन सकेमा एउटा कोष खडा गरेर न्याय र अधिकारका लागि विश्वभर सुनिने गरी अर्थपूर्ण आवाज उठाउन शुरु गर्नेछु।
ढिलो वा चाँडोको मात्रै कुरा हो, सत्यको अर्थ सत्य नै हुन्छ्।
(युवती हत्या, बलात्कारसहितका अनाहकको अभियोग खेप्दै १५ बर्ष ३ महिना (१९९७ मार्च २३— २०१२ जुन १५) जापानी जेलमा बसेपछि ‘निर्दोष’ पुष्टी भएर घर फिरेका गोविन्दप्रसाद मैनालीको जेल जीवन र घटनाहरुको वृतान्त पुस्तक ‘परिबन्दका १५ वर्ष’ जेठ ८ गतदेखि बजारमा आएको छ । पत्रकार देवेन्द्र भट्टराईको सहलेखनमा तयार भएको पुस्तक सांग्रिला बुक्सले निकालेको हो ।)