भगवान गौतम बुद्ध २९ वर्षको भोगाकुल हुने युवा अवस्थामा नै गृहत्याग गरी ६ वर्षसम्म ध्यान–साधनामा लीन भए । तत्कालीन भारतका ख्यातिप्राप्त अध्यात्म गुरुहरूको सम्पर्कमा सातौं र आठौं ध्यान विधि साधना गर्दा पनि उनले तीव्र धर्मसंवेगबाट उत्पन्न आफ्ना गहन प्रश्नहरुको जवाफ पाउन सकेनन् । गुरुहरुलाई पनि छाड्दै एकान्त र शान्त अवस्थामा तल्लीन भई ३५ वर्षको उमेरमा निर्वाण प्राप्त गरी सम्पक्–सम्बुद्ध भए ।
बुद्धको उत्कट जिज्ञासा मेट्नसक्ने सामथ्र्य तत्कालीन महान गुरुहरुमा पनि रहेनछ । बुद्ध निश्चित रूपमा धर्मको प्रामाणिकता खोज्थे, साधनाबारे स्पष्टता र आफूभित्र मडारिएको प्रश्नको जवाफ बुद्धि र तर्कबाट होइन, अनुभवबाट खोज्थे । र, दुःखका कारण र तिनका निराकरणका उपायसम्बन्धमा अन्तिम किनारामा पुग्न चाहन्थे । बुद्धका प्रश्नमा असलीपन र गहन ताजगी थियो, उनी बासी ज्ञान र कृतिम मान्यताहरूमा अल्मलिन चाहँदैन थिए । अध्यात्मका जिज्ञासुहरूमा स्वभाविक रूपमा प्रश्न उठ्न सक्छ– ६ वर्षकै साधनाबाट सुखसयलमा हुर्किएका राजकुमार कसरी त्यति माथिल्लो अध्यात्म अवस्थामा पुग्न सफल भए ? सम्पक्–सम्बुद्धको अवस्थामा कसरी पुगे बुद्ध ? यसको उत्तर खोज्न बुद्धवाणीमा नै प्रवेश गर्नुपर्छ ।
बुद्धले निर्वाणको अवस्था प्राप्त गरेपछि भनेका छन्ः
मेरा अनन्त जन्महरू भएका रहेछन्, धेरै बेकारमा जन्महरू पनि भएछन्, मैले यो दुःखरूपी शरीर बनाउने को रहेछ भनेर खोजी थालेछु र यस्तो खोजीमा पनि मेरा थुप्रै जन्म बितेछन् र यस पटकको जन्ममा मात्र मैले पहिचान गरेँ, मलाई शरीररूपी दुःखको घरमा बारम्बार निर्माण गर्ने कारक तत्व, त्यो कारण रहेछ तृष्णा ! अब मैले तृष्णाको समुल नष्ट गरिदिएँ, मलाई निर्माण गर्ने सामग्री ध्वस्त गरिदिएँ र मलाई कसैले पुनः यो दुःखरूपी काया प्रवेश गराएर ल्याउन सक्ने छैन, म स्वतन्त्र भएँ, मुक्त भए, दुःखबाट छुटकारा पाएँ ।
बुद्धको यो उद्घोषबाट बुझ्नुपर्छ, अनन्त जन्महरूमा साधना गर्दै आउनुपर्ने रहेछ, एकैपटक अध्यात्मको महान उपलब्धि सम्भव छैन । निर्वाणको अवस्था प्राप्त गरी सम्यक सम्बुद्धको अति उच्च अवस्था प्राप्त भएपछि उनलाई आफू भवचक्रबाट विभुक्त भएको अर्थात् शरीरको आवागमनबाट मुक्त भएको परम सत्य साक्षात्कार भयो । अब आफ्नो पुनर्जन्म नहुने यथार्थ बोध भयो ।
बुद्धले प्राप्त गरेको निर्वाण धेरै उच्च अवस्था थियो र उनी अरहन्त भएर सम्यक् सम्बुद्ध पनि भए । सम्यक–सम्बुद्ध ज्ञान प्राप्तको त्यो अवस्थालाई भनिन्छ जुन अवस्थामा पुगेपछि जान्न र अनुभव गर्न केही बाँकी रहन्न । सम्पक्–सम्बुद्ध भएको महापुरुष चुपचाप बस्दैैनन् । आफूले अनुभव गरेको तथा प्रज्ञाबाट प्रस्फुटित ज्ञान बाँड्ने कार्यमा बाँकी जीवन लागिरहन्छन् । सम्यक–सम्बुद्ध आफूमात्र मुक्त हुँदैन र साधनामार्गमा अविछिन्न अभ्यास गराएर तथा सही धर्मपथमा हिँडाएर अरूको मुक्तिमार्ग पनि खोल्छ । बुद्धकालमा ५ सयभन्दा बढी बुद्धका शिष्यले प्रज्ञा–विमुक्त अरहन्त अवस्था प्राप्त गरे । असंख्य बोधीसत्वका जन्म लिएर भवभ्रमण गरेर असंंख्य आत्महित पारमिता अर्थात् परमार्थ पूरा गरेपछि अरहन्तको अवस्था प्राप्त गरी कुनै दुर्लभ दिव्यपुरुष कल्प–कल्पपछि सम्यक–सम्बुद्ध हुने गरेको बुद्धदर्शन छ । बुद्धत्व प्राप्तिको सिलसिलाबद्ध मार्गमा स्रोतापन्न अवस्था, सकृदागामी, सगदागामी, अनागामी, बोधीसत्व हुँदै अरहन्तजस्ता उपल्ला अवस्थाहरूको वर्णन छ।
बुद्धका ५ सय शिष्यहरूले अरहन्तको अवस्था प्राप्त गरेको घटना अध्यात्मको महत्वपूर्ण र उपलब्धिपूर्ण इतिहास हो । बुद्धको आगमनसाथ सो समयको आसपासमा उच्च आत्माहरूले जन्म लिएका थिए । सामान्यतयाः यस्तो हुने गर्छ । कृष्णको समयमा पनि धेरै महापुरुषहरू पृथ्वीमा विभिन्न भूमिकामा अवतरण भए, त्यस्तै हरेक अध्यात्मका शिखर पुरुषहरूको जन्मको आसपास समयमा पवित्र आत्माहरू आउने गरेको हामी पाउँछौ । आजको युगमा समेत रामकृष्ण परमहंस, विवेकानन्द, अरविन्द, योगानन्द, ओशोजस्ता महान आध्यात्मिक गुरुहरूको आगमनसँगै उच्च कोटीका साधक, शिष्य तथा अनुयायीहरू सतत् धाराकै रूपमा आउने गरेका छन्।
साधनाबाट पुग्ने अरहन्त चित्तको विकाररहित र द्वन्द्वका अवस्था पार गरेको, तृष्णाका समुल नष्ट भई अन्तरजगतमा प्रज्ञा प्रज्वलित भएको अवस्था हो । भित्रको विकार संग्रहित शत्रुलाई विनास गरेको हुँदा अरहन्त भनिएको हो । बुद्ध के हुन् भन्ने बुझ्न यो बुझ्नु पर्छ । बुद्धले मार सेनालाई पराजित गरेको भौतिक युद्धको विषय होइन । विकार, क्लेशबाट विमुक्त हुन अनवरत साधना गरी निश्चल निरवता प्राप्तिको निद्र्वन्द्व र निर्विकार अवस्था हो । विषय रसमा डुबेको, इन्द्रीय सुखमा तल्लीन, युक्त आहारविहारको हेक्का नभएको, अल्छी र अनुद्यमी मान्छेका दुर्गुणलाई बुद्धले मार सेना भनेका हुन् । यी मार सेनाले व्यक्तिलाई यसरी गिराउँछन् जसरी आँधीले ढल्न लागेको कमजोर वृक्षलाई । मार सेनासँग प्रभावित चित्तदशा दुर्वल र निरीहसमेत हुन्छ भन्ने बुद्धको आशय छ । गीतामा भनिएको धर्मक्षेत्र, कुरुक्षेत्र भन्ने संग्रामका क्षेत्र पनि यही शरीर क्षेत्र नै हो ।
बुद्धको धर्मकालमा धेरै अरहन्तहरू भए तर सम्पक्–सम्बुद्ध चाहिँ सिद्धार्थ गौतममात्र भए । यसको कारण बुझ्दा के देखिन्छ भने उनी विद्या तथा सदाचरणले सम्पन्न, सबै क्षेत्रको ज्ञान भएको, बत्तिस लक्षण र असी अनुव्यजनहरूले युक्त थिए । बुद्ध पुरुषका शारीरीक र चारित्रिक लक्षणसाथ साथै व्यापक रूपमा शरीरमा पाइने मंगलकारी चिन्हहरूलाई अनुव्यजन भनिन्छ । विलक्षण स्वरुप तथा आचरणले गर्दा बुद्धमा पथभ्रष्ट व्यक्तिहरूलाई सहीमार्गमा ल्याउनसक्ने सामथ्र्य थियो । बुद्धको शरीरको सुषमा पनि अत्यन्त आकर्षक र दर्शनीय थियो । छालाको रङ र कान्तिले सबैलाई आकर्षित गथ्र्यो । चेहरामा शान्ति, इन्द्रियमा पवित्रता, शुचिता, निर्मलता, निर्दोषता थियो । उनको विशिष्ट र सुन्दर रुपकाया थियो । यसभित्र समाहित कल्याणकारी धर्मकाया, ब्रम्हकाया र बोधिकाया अनुभूत रहेको त्रिपिटकको अध्ययन गर्दा थाहा हुन्छ । त्यसैले उनी देवता र मनुष्यका शास्ता अर्थात् आचार्य भए ।
बुद्धलाई पुज्ने, मान्ने भनेको उनले सिकाएको मार्गमा हिँड्नु हो । सात्विक जीवन बिताउनेले आहारविहारबारे हेक्का राख्नु पर्नेजस्तै बुद्धका कुरा गर्नेले बुद्धका शिक्षा र धर्म देसना बुझ्नु जरुरी छ ।
निर्वाण प्राप्तिपछि विभिन्न स्थानहरूमा विचरण गर्दै समूहमा र कतिलाई एकल रूपमा उपदेश दिँदै, धर्म साधना सिकाउँदै बुद्ध ४५ वर्षसम्म हिँडे । यी उपदेशलाई धर्म देसना भनिन्छ । उनले ८२ हजार धर्म देसना दिए र यिनलाई तीन पिटक अर्थात् त्रिपिटकका रूपमा वर्गीकरण गरिएको छ– विनय पिटक, सुत्र पिटक र अभिधम्म पिटक । बुद्धले भिक्षुदेखि गृहस्थसम्मका जिज्ञासु र साधकहरूलाई आध्यात्मिक ज्ञान, साधनाज्ञान, निर्देशन र सामाजिक जीवनमा आवश्यक पर्ने व्यवहारिक ज्ञान दिए यी देसना मार्फत ।
सामान्य अर्थमा पिटक भनेको टोकरी भए पनि यहाँ यसको अर्थ बुद्धको धार्मिक वाङमय हो । सम्पूर्ण त्रिपिटकमा ८४ हजार शिक्षापद अर्थात् धर्मस्कन्ध छन्, जसमा ८२ हजार बुद्धका र महाकस्सपजस्ता बुद्धका उच्चकोटीका शिष्यका वाणी संग्रहित छन् । विनय पिटकमा अधिकतम रूपमा भिक्षुहरूले पालना गर्नुपर्ने विधान, सुत्र पिटकमा सामान्य गृहस्थका लागि दिएका शिक्षा तथा उपदेश र अघिधम्म पिटकमा विपश्यना साधनामा खारिएका साधकहरूका लागि गहिरा धर्म उपदेश संग्रहित छन् ।
बुद्धले दिएका यी महत्वपूर्ण धर्म देसना अर्थात् बुद्धवाणीहरूको संगायन तथा संगीति पनि हालसम्म पाँचपटक भइसकेको छ । संगायन भनेको बुद्धवाणीलाई यथास्वरूपमा राख्न यस विषयमा जानेका, बुझेका र सो मार्गको अनुभव गरेका विशिष्ट आध्यात्मिक व्यक्तिहरूले एकैसाथ गायन गरेर, मतमतान्तर विहीन रूपमा स्वीकार गरी लिपिवद्ध तथा संग्रहित गर्ने कार्य हो ।
बुद्धवाणीलाई किन संगायन तथा संगीति गर्नुपर्यो ?
बुद्ध जव जीवित थिए, धेरैलाई उनका साथ अभ्यास गर्न र भनेका नियम पालना गर्न कठिन थियो. । कहिले उनी बित्लान् र सम्प्रदाय र धर्म बनाउँला र त्यसको जगमा रजगज गरौंला भनेर प्रतीक्षामा पनि थिए केही व्यक्तिहरू । अक्सर अध्यात्मको शिखरपुरुष त उन्मुक्त हुन्छ, उनका जीवनका सबै द्वार खुलेका हुन्छन्, न बौद्ध, न ईसाई, न जैन र मुस्लिमजस्तो धर्म सम्प्रदायभित्र हुन्छ ऊ । उनीहरू खुला आकाश र गहिरो समुद्रमा हुन्छन् र त्यहाँ कुनै धर्मका् छाप हुँदैन । सबै धर्म र सम्प्रदाय त पछि बनाउने ठूला गृहस्थी हुन्, त्यहाँ संकीर्णता, राग–द्वेषले जन्म लिन्छ, उन्मुक्ति निसासिन्छ र धर्म तथा सम्प्रदायमा विभक्त कतिपय काल्पनिक र अप्रमाणिक आ–आफ्ना मान्यता सिर्जना हुन्छन् र ती सर्वजनिन हुन सक्दैनन् । बुद्ध बित्नेबित्तिकै सम्प्रदाय बन्न पनि सुरु भयो । एकातिर बुद्धवाणीहरूको संगायन त भयो, साथसाथै सम्प्रदाय पनि सुरु भइहाल्यो ।
बुद्धका धर्म देसनाहरूको संगायन गर्नु परेको छुट्टै र चाखलाग्दो अध्याय छ । भगवान बुद्धले शरीर त्यागेको समयमा वृद्ध अवस्थामा प्रव्रजित एउटा बुढो भिक्षु सुभद्रले प्रसन्नता व्यक्त गर्दै भने– गृहस्थले पाँचवटा मात्र शील सदाचार पालन गर्नुपर्ने र भिक्षुले भने अनगिन्ति ।’ उनको सोचाइ के रहेछ भने यति धेरै शील सदाचार पालना गर्न म थोरै भिक्षु भएको हुँ, अब यो बुढो बुद्ध सकियो, अब त उन्मुक्त भइयो र मनमा जे चाहना हुन्छ, त्यही गरिन्छ भनेर ऊ दंग पर्छ ।
बुद्धकालमा ध्यान साधनाबाट खारिएर अरहन्त भएका महाकस्सप लगायत भिक्षुहरूलाई यसले ठूलो पीडाबोध हुन्छ । बुद्धवाणीलाई शुद्ध नराखी चुपचाप बस्ने हो भने अल्छी र स्वार्थीले यसलाई चाँडै विकृत र अनर्थ बनाउने रहेछन् भन्ने बोध उनीहरूलाई हुन्छ । ती बुढा भिक्षुको अमांगलिक शब्द नै संगायनको सुत्रधार बन्यो र उनको वचनले मानव जातिलाई गुन लगाएकै मान्नुपर्छ । एउटा शिखरपुरुषको अवसानपछि उनले सिकाएका साधना, दिएका उपदेश तथा धर्म देसनाहरू विकृत नहुन् र हुवहु अवस्थामा रहुन् भनेर तत्कालीन अवस्थामा अरहन्त हुन पुगेका महाकस्सप, आनन्दजस्ता बुद्धसँग सामीप्यमा रही धर्म देसनाहरू कण्ठस्थ गरेका ५ सय अरहन्तहरुको सभाले बुद्ध बितेको चार महिनामा बुद्धवाणीको प्रथम संगायन गरेको थियो । ५ सय सत्य–साक्षी अरहन्त अवस्था प्राप्त गरेका बुद्धका अनुयायीहरूले महाकस्सपको नेतृत्वमा प्रथम संगायन गरेका हुन् । बुद्धका उपदेशलाई शुद्ध रुपमा चीरस्थायी राख्न संगायन ढिलो गर्दा यति धेरै संख्यामा अरहन्तहरू जुट्न नसक्ने पनि हुन सक्थ्यो । ८२ हजार धर्म देसनाहरु कुन सन्दर्भ र परिवेशमा र कसका सामु दिएका थिए भन्ने बुद्धसँगै रहेका महाकस्सप र आनन्दजस्ता उच्च कोटीका भिक्षुहरूलाई समग्रमा थाहा थियो, त्यसैले यो संगायनको विशिष्ट महत्व छ । २ सय वर्षपछि भारतमा दोस्रो, त्यसको डेढ सय वर्षपछि भारतमा नै तेश्रो र लगभग पाँच सय वर्षपछि चौथौ संगायन श्रीलंकामा भएको उल्लेख छन् । आजभन्दा करिब १ सय ५० वर्षअघि पाँचौ संगायन बर्मामा र करिब ५५ वर्षअघि छैठौं संगायन पनि बर्मामा भएको देखिन्छ ।
धेरै देशहरूबाट बुद्धवाणीलाई उच्चरण गरिरहेका साधक र विद्वानहरुले एकत्रित भएर संग्रहित वाणीलाई परस्पर समागम तथा मिलान गरी लिपी र उच्चरण आ–आफ्नो भए पनि उपदेश तथा देशनाको सारवस्तुमा मौलिक अन्तर नहुने गरी संगीति अर्थात् संगायनमार्फत पटकपटक प्रमाणिकता प्रदान गरेका छन् । त्यसैले बुद्धवाणी शुद्ध रूपमा सुरक्षित छ ।
बुद्धलाई जान्न चाहने र बुद्ध यस देशमा जन्मिएर विश्वलाई नै शान्ति, मित्रता, हार्दिकता बाँड्दै साधनामार्फत दुःखबाट निवृत गराउन सिकाएका विद्याबारे अभ्यास गर्ने, बुझ्ने र धर्म देसनामा उल्लेखित महत्वपूर्ण तथा सत्य वचन अनुशरण गर्न सकेमात्र यो बुद्ध भूमिको सार्थकता सिद्ध हुनेछ । र, हामी बुद्धका अनुयायी हौं, शान्तिकामी हौं भन्ने भावना सार्थक हुनेछ ।
अध्यात्मले राजनीतिलाई दिशा निर्देश समेत गर्न सक्छ भन्ने सामथ्र्य बुद्ध वाणीहरुमा समाहित भएकाले चित्तशुद्धि र व्यवहारिक ज्ञानका लागि समेत यी वाणी अति महत्वपूर्ण छन् ।
बुद्ध जयन्तीमा बुद्धका ठूल्ठूला तस्बिरमा माला टाँगेर धुपबाती गरेरमात्र शान्ति प्राप्त हुँदैन । बुद्धका वाणी नबुझ्ने, व्यवहारमा नउतार्ने र सत्यको खोज नगर्ने हो भने बुद्ध जयन्ती मनाएरमात्र केही काम छैन ।